धनगढी । यस वर्षको मनसुन सुरु भइसक्दा समेत सुदूरपश्चिम प्रदेश सरकारले मनसुनका कारण हुनसक्ने विपद् नियन्त्रण र उद्धारसम्बन्धी पूर्वतयारी सुरु गरेकाे छैन ।
गत कार्तिकमा सुदूरपश्चिममा आएको बेमौसमी वर्षाका कारण ठूलो क्षति भएको थियो । वर्षाका कारण अर्बौँको भौतिक संरचनामा क्षति हुनुकाे साथै ३३ भन्दा बढीले बाढी पहिरोका कारण ज्यान गुमाएका थिए । जसकाे प्रमुख कारण सरकारकाे पूर्वतयारी अभाव नै हाे ।
यस वर्ष पनि मनसुन भित्रिसक्दा समेत प्रदेश सरकारले पूर्वतयारीमा चासो समेत देखाएको छैन । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदीप वेश्राका अनुसार विपद् पूर्वतयारीका बारेमा अहिलेसम्म सामान्य छलफल मात्रै भएको छ । तर, कसरी काम गर्ने, स्राेतको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको उनले बताए ।
उनका अनुसार अहिलेसम्म सुदूरपश्चिममा विपद्को पूर्वतयारी तथा विपद्पछि उद्धारका लागि के कति स्राेतसाधान छ भन्ने समेत एकिन तथ्यांक छैन । सो तथ्यांक स्थानीय तहसँग माग गरेकाे भए पनि उपलब्ध नभएको उपसचिव वेश्राले बताए ।
‘विपद् न्यूनीकरणका लागि पूर्वमनसुन तयारी कार्ययोजनाको ड्राफ्ट बन्दैछ,’ उपसचिव वेश्रोले भने, ‘असारसम्ममा सो कार्ययोजना बन्छ होला, त्यसपछि पूर्वतयारीका लागि जुट्नेछौं ।’
यसअघि स्थानीय तहसँग समन्वय नहुँदा विपद्का वेला स्थानीय स्राेतसाधन परिचालन गर्न नसकेकाे उनले बताए । उनले आगामी दिनमा भने स्थानीय तहसँग समन्वय गर्दै स्थानीय स्राेत साधनको बढीभन्दा बढी प्रयोग गरी विपद् न्यूनीकरण गरिने बताए । तर, अहिलेसम्म स्राेतको पहिचान भने भइनसकेको उनी बताउँछन् ।
‘स्थानीय तहले दिने सूचनाका अधारमा एकीकृत श्रोतको परिचालन गर्नेगरी योजना तयार हुँदैछ,’ उनले भने, ‘यस वर्ष हेलिकोप्टर प्रयोगलाई प्राथमिकता नदिने की भन्ने सोच छ ।’
उनले तत्कालै प्रकोप सम्भावित क्षेत्रमा पूर्वतयारीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नेगरी संघसंस्थासँग सहकार्य भइरहेको बताए । मर्सीकोर, आइओएनलगायत अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा पूर्वतयारी सचेतना कार्यक्रम सञ्चालन गर्नेगरी छलफल भइरहेको उनको भनाइ छ । सचेतना कार्यक्रममा विपदबाट बच्न के–के गर्ने ? सावधानीका उपाय कसरी अपनाउने ? विपद आइहाले कसरी सुरक्षित बन्ने ? भन्ने बारेमा नागरिकलाई जानकारी गराइने उनले बताए । प्रदेश सरकारले नदीमा पानीको वहाव मापन गर्ने ‘रेनगेज’को सूचना दिने स्वयंसेवकहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम रहेको समेत बताए ।
कैलालीमा बल्ल छलफल सुरु
कैलालीमा विपद्को पूर्वतयारीका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले छलफल सुरु गरेकाे छ । प्रशासनले पूर्वतयारी स्वरुप १३ वटै पालिकाका जनप्रतिनिधिसँग छलफल गरिसकेको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।
वर्षायाममा आउनसक्ने बाढी तथा पहिलोबाट बच्न बाढीको पूर्व मनसुन प्रतिकार्य योजना तयार भइरहेको उनले बताए ।
‘मनसुन प्रतिकार्य योजना जेठ अन्तिमसम्म वा अषार पहिलो साताभित्रै तयार हुन्छ,’ सूचना अधिकारी जोशीले भने, ‘सो योजना बनेपछि हामी पूर्वतयारीका लागि थप गतिविधि गर्नेछौँ ।’ विपदबाट बच्न पूर्वतयारीस्वरुप सम्भावित जोखिम भएका स्थानमा नागरिकलाई कृत्रिम अभ्यास गराइने उनले बताए ।
‘यसवर्ष कैलालीमा अति वर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी गराई सकेको छ,’ उनले भने, ‘सो जनाकारीपछि अब पूर्वतयारी बढी आवश्यक देखिएको छ, जोखिम न्यूनीकरण गर्न प्रतिकार्य योजना महत्वपूर्ण हुनेछ, हामी त्यसैलाई प्राथमिकता दिनेगरी अघि बढेका छौं ।’
सूचना अधिकारी जोशीले स्थानीय तहलाई स्राेतसाधन सम्पन्न बनाएर मात्रै जोखिम न्यूनीकरण तथा उद्धारकार्य छिटो हुन सक्ने बताए । त्यसका लगि प्रशासनसँग भएका उद्धार सामग्री पनि स्थानीय तहलाई नै जिम्मा लगाउने विषयमा पनि छलफल भइरहेको उनले बताए ।
‘विपद् पर्दा जिल्लाका सबै ठाउँमा प्रशासन छिटो पुग्न सक्दैन,’ उनले भने, ‘छिटो पुग्ने भनेको स्थानीय जनप्रतिनिधि र नजिकको सुरक्षा निकाय हो, त्यसैले हामीले स्थानीय तहलाई स्राेतसाधन सम्पन्न बनाउने गरी तयारी गरिरहेका छौं ।’
कैलालीका सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति बनिसकेका कारण सो समितिलाई सक्षम बनाउन सके मात्रै जोखिम न्यूनीकरण र उद्धारकार्यलाई प्रभावकारी बनाउन सकिने उनको बुझाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया