काठमाडौं । आईसिसी यु–१९ महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रको छनोटका लागि मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले सोमबार भुटानविरुद्ध जित निकालेको छ ।
किनरारा ओभल मैदानमा नेपालले भुटानलाई ४ विकेटले पराजित गर्दै जारी छनोट प्रतियोगितामा दोस्रो जित निकालेको हो। यससँगै नेपालको तीन खेलबाट चार अंक भएको छ ।
नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ । आफ्नो दोस्रो खेलमा युएईसँग लज्जास्पद हार व्यहोरेको नेपालले सोमबार भुटानविरुद्ध जित निकाल्दा अघिल्लो चरण पुग्ने सम्भावन कायमै छ । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालको जितमा सानु राजवंशीले अविजित सर्वाधिक ३० रनको पारी खेल्दा साना प्रविनले १२ रन, आश्मा पुलामी मगरले ३ तथा किरण कुँवरले २ रनको योगदान गरे ।
यस्तै, सृष्टि जैसीले ८ रन कप्तान कृतिका मरासिनी २ तथा स्नेहा महरा शुन्यमा पवेलियन फर्किए भने एलिशाकुमारी यादव २ रनमा अविजित रहिन् । बलिङतर्फ भुटानका सांगे वाङ्मोले ३ तथा अञ्जुली घली र सोनमले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाउँदा पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडे । भुटानको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषाकुमारी उपाध्यायले २÷२ विकेट लिए । यससँगै भुटानले जारी प्रतियोगितामा लगातार दोस्रो हार भोगेको छ ।
अंकविहीन भुटान तालिकाको पुछारमा छ । पहिलो खेलमा कतरालाई ७९ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा भने युएईसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतारले प्रतिष्पर्धा गरिरहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने प्रतियोगितामा स्थान बनाउनेछ । अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया