नेकपाका प्रवक्ता प्रकाण्डद्वारा चन्दा उठाएको स्वीकार

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले चन्दा उठाएको स्वीकार गरेका छन्  ।  

बुधबार जिल्ला अदालत काठमाडौंले प्रकाण्डलाई थप दुई दिन थुनामा राख्न अनुमति दिएको छ । प्रकाण्ड एक सातादेखि प्रहरी हिरासतमा छन् ।

प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण मुद्दामा बिहीबार सर्वोच्चमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंको तयारी छ ।

सर्वोच्चले सोमबार बाटोको म्याद बाहेक ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो ।

अनुसन्धान अधिकारी समक्ष बयान दिने क्रममा प्रकाण्डले ‘आर्थिक, भौतिक र नैतिक हिसाबले हामीले चन्दा लिएका छौं’ भनेका छन् ।

‘चन्दा नभइ, सहयोग लिएको’ उनको दाबी छ । ‘हाम्रो पार्टीको नीति नै यही हो’, प्रकाण्डले बयानमा भनेका छन् ।

उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिए पनि अनुसन्धान भने विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार प्रकाण्डले मात्रै ७ करोड ५६ लाख रुपैयाँ चन्दा उठाएको विवरणसहितको आयव्यय रेकर्ड विशेष ब्यूरोको टोलीले फेला पारेको छ ।

प्रकाण्डको कसुर प्रमाणित भए चन्दा ऐन २०३० अनुसार २ वर्ष कैद वा संकलित रकम जफत वा दुवै सजाय हुनसक्छ ।

विप्लव समूहका प्रवक्ता प्रकाण्ड हेटौंडाबाट काठमाडौं आउने क्रममा २३ साउनमा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?