प्रशिक्षणमा प्रचण्ड : स्वतन्त्रले सबक सिकाएको देखि कांग्रेसलाई चेतावनीसम्म !

लोकपथ
210
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेसलाई ठूलो पार्टी हुनुमा दम्भ नदेखाउन आग्रह गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई निर्वाचनमा ठूलो दल भएकोमा दम्भ र अहंकार नदेखाउन आग्रह गरेका हुन् ।

उनले विगतमा एमालेलाई अहंकार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहंकार आउने हो कि भन्ने डर पैदा भएको बताए । उनले कांग्रेसमा दम्भ र अहंकार चुलिएर माओवादीलाई केही पनि होइन भनेमा एमालेलाई जस्तै ठेगान लगाउने चुनौती दिए ।

अध्यक्ष दाहालले माओवादी केन्द्र गठबन्धनलाई कायम राखेरै अघि बढ्न चाहेको बताए ।

उनले भने – ‘हामीलाई मानिसहरुले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन् । माओवादी आफै त केही गर्दैन कहिले एमालेलाई ठूलो बनाउँछ । कहिले कांग्रेसलाई ठूलो बनाउँछ । कहिले एमालेको दम्भ बढाइदिन्छ । अहंकार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ । कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादीलाई । अब यो हाम्रो बाध्यता पनि छ । आवश्यकता पनि छ । हाम्रा कतिपय कमीहरु पनि होलान् । हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हाम्रो उद्देश्य त राम्रो उद्देश्यका साथ हामीले गरेको हो नि । तर यति धेरै अहंकार आयो त्यसको लिडरशिपमा सबै हामी नै हो भनेजस्तो गर्‍यो । हामी त्यसको विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो । अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानमन्त्री बनायौँ । मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो । हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ । हाम्रो अर्को केही छैन । हामी गठबन्धन लाने । तर हामी चिन्तित छौँ यतिबेला । फेरि कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरि एमालेलाई ठेगान लगाएजस्तै फेरि कांग्रेसलाई लगाउने दिन नआओस् भन्ने छ हामीलाई । त्यसकारण म कांग्रेसका नेता साथीहरुलाई र कांग्रेस पार्टीलाई पनि भन्न चाहान्छु अहंकार र दम्भले कसैको पनि हित गर्दैन । जनता र राष्ट्रको त गर्दै गर्दैन । हामी गठबन्धन कायमै राखेर जान चाहन्छौँ । यो दुविधामा कोही पनि नपर्नुहोला है । मेरो भनाईबाट अर्को अर्थ नलगाउनु होला ।’

अध्यक्ष दाहालले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताए । निर्वाचन जित्ने स्वतन्त्र उम्मेदवारहरुले माओवादीको जस्तो कुरा गरेका कारण जनताले मत दिएका उनले जिकिर गरे । उनले देशमा अझै कयौँ दशकसम्म पार्टीहरुले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताए ।

उनले भने – ‘माओवादीले गर्नेजस्तो व्यवहारका कुरा गरेका कतिपय स्वतन्त्र मान्छेहरुलाई जनताले जसरी अपवादको रुपमा भन्छु । कोही कोही साथीहरुले भन्नुभयो भोलि त ७५३ मै त्यस्ता हुन्छन् भन्ने कुरा होइन है । यो भ्रममा हामी कोही नपरौँ । अझै कयौँ दशकसम्म पार्टीहरुले नै बिग्रे पनि सप्रे पनि राज्य तिनीहरुले नै गर्छन् देशमा । स्वतन्त्र आएर नै लान्छन् भन्नेचाहिँ होइन । काठमाडौं र धरानचाहिँ अलि भिन्न छन् । अरु कोही स्वतन्त्र मैले ठान्या छैन । तर ती भिन्नलाई मैले हेर्दा के देख्छु भने उनीहरुले माओवादीको जस्तो कुरा गरेका छन् । त्यसो भएर जनताले मत दिएको हो । हिजो हामीले जे भन्थ्यौँ जनताको सेवा गर्ने, धारो, पानी, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सब सिध्याउँछौ भनेर भनेको होइन ? हामीले राम्रोसँग नगरेको देखेपछि ल हेर ति तिमीहरुले गर्दैनौँ भने हामी यसो गरिदिन्छौँ भनेर जनताले हामीलाई नै सबक सिकाएको जस्तो लाग्छ मलाई । त्यो हाम्रो लागि सबक हो । हामी आफूलाई जनताको सेवाको निम्ति समर्पित हुनको निम्ति एउटा पाठको रुपमा लिनुपर्छ । त्यसलाई नकारात्मक रुपमा लिने कुराको केही अर्थ हुँदैन । तर स्वतन्त्रले नै देशमा चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न । त्यो अपवाद हो । उहाँहरु कुनै न कुनै रुपमा पार्टीहरुसँग समन्वय गरेर मात्रै आफ्नो कामलाई अगाडि बढाउन सक्ने स्थिति हुन्छ । अहिले यो देशमा पार्टी सिस्टम कमजोर बन्ने, स्वतन्त्रको राज्य चल्ने भन्ने यो विल्कुल हुनसक्ने कुरा होइन ।’

उनले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रुपमा नलिन पनि चेतावनी दिए । अध्यक्ष दाहालले माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?