‘मुक्ति समाजका सदस्य कोलीले मुक्तहलियासँग घुस मागे’

बैतडी । बैतडी जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीले घुस मागेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ । 

बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले नेपाल सरकारको हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा रु ८ हजारका दरले रकम मागेको भन्दै आइतबार जिल्ला हलिया मुक्ति समाजका सदस्य कोलीवरुद्ध निवेदन दिएका हुन् । 

जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा निवेदन दिँदै उनीहरुले आफूहरुको रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह समेत गरेका छन् ।

जिल्ला मालपोत कार्यालयमार्फत आफूले पाएको रकममा कोलीले रु ८ हजारका दरले मागेको मुक्तहलिया वीरभान महरले बताए ।

साउन १७ गते ग्वाल्लेकका दुखी रानासँग रु १६ हजारमध्ये रु नौ हजार ५०० घुस मागेपछि घटना बाहिर आएको हो । रु नौ हजार ५०० मागेपछि आफूले प्रहरीमा निवेदन दिएको र वीरभान कोलीले पछि रकम फिर्ता गरेको रानाले बताए ।

प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रैले मुक्तहलियाले दिएको निवेदन बुझ्दै यस विषयमा छानबिन हुने बताए । ‘मुक्तहलियाबाट पैसा मागेको पाइएमा कानूनअनुसार कारवाही गरिने छ ’ उनले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?