काठमाडौं । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका डा. गोविन्द केसीले ढिलै भएपनि आफूसँग सहमति गरेर २७ दिने लामो अनसन तोडाएकोमा प्रधानमन्त्री लाई धन्यवाद दिएका छन् ।
आफ्नो वार्ता टोलीसहित बालुवाटार पुगेका डा. केसी र प्रधानमन्त्रीबिच एक घण्टा लामो भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनले सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक अगाडी बढ्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीलाई भेटेर बालुवाटारबाट बाहिरिँदै गर्दा डा. केसी खासै उत्साहित देखिएनन् । उनले भने, ‘म यहाँ आउँदा जे सन्देश पाउँछु भन्ने सोचेको थिएँ, त्यति फरक परेन ।’
प्रधानमन्त्री ओलीले आफूहरुको चाहना एउटै भएको भन्दै संवादबाटै अगाडि बढ्नुपर्ने धारणा राखे । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले भेटेर माग राखिसकेको र त्यो मागको वेवास्था भएको कारण यसपटक ठूलो महत्वकांक्षा नबोकी बालुवाटार प्रवेश गरेको उनको भनाई छ ।
उनले भने, ‘जुन कुरा हामीलाई थाहा छ, त्यही उहाँले पनि भन्नुभयो’ डा. केसी भन्छन्, ‘विश्वास गर्दा गर्दै पनि यदि सम्झौता कार्यान्वयन भएन भने १६ औं सत्याग्रह बस्न पछि पर्दिन । मलाई विश्वास छ, त्यस्तो स्थिति नआउँला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया