काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन् ।
बुधबार उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आव २०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए । उनले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गरे । उनले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निरश भएको टिप्पणी गरे ।
उपाध्यक्ष पौडेलले सरकारले अवलम्वन गरेका नीति तथा निर्णयहरुका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताए। उनले आर्थिक संकटको बारेमा सरकार मौन रहेको बताए। उनले विगतमा सकारले गरेका राम्रा कामहरुलाई यस सरकारले निरन्तरता नदिइ नीति तथा कार्यक्रम पूर्वाग्रही रुपमा ल्याएको पनि बताए ।
नीति तथा कार्यक्रमले विगतमा अगाडी बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उनको भनाइ छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई अगाडी बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उनले आरोप लगाए। स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उनले निष्पक्ष, भयरहित र स्वतन्त्र बातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोशिस भएको बताए। नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमसल रहेको उनले बताए । यसले मुलुकलाई कुनै नतिजा दिन नसक्ने उनले दाबी गरे ।
उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने बताए । आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने उनले बताए । आगामी निर्वाचन पछि नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने उनले दाबी गरे ।
उनले नीति तथा कार्यक्रमले मुलुकको आर्थिक संकटका कारणहरुलाई चिनेर त्यसको निराकरण गर्नेगरी ल्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया