जङ्गबहादुर राणाले बनाएको ऐन परिवर्तन हुँदै : धर्म परिवर्तन गराए पाँच वर्षसम्म कैद

काठमाडौं । आगामी भदौ १ गतेदेखि मुलुकी ऐन परिवर्तन हुँदैछ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँच ऐन परिवर्तन हुन लागेको छ । 

ऐनमा भएका प्राविधिक त्रुटी र केही प्रावधान संशोधन गरेर भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा ल्याउने तयारी गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।  

वि.सं. १९१० मा जङ्गबहादुर राणाले बनाएको १६३ महलको ऐन दर्जनौपटक संशोधन हुँदै २०२० भदौ १ गतेदेखि मुलुकी ऐनको रुपमा लागू भयो । त्यो कानून लागू भएको ५४ वर्षपछि मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कायएविधि (संहिता) ऐन र मुलुकी देवानी (कायएविधि) संहिता ऐन लागू हुनेगरी मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै छ ।

अब लागुहुने नयाँ ऐनले साविक मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ । यसबाहेक अलग्गै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । 

भदौ १ गते देखि लागू हुन लागेको संहितामा धर्म परिवर्तन, दाईजो प्रथा, बहुविवाह, बलात्कार, पशुपंक्षीलाई गर्ने निर्दयी व्यवहार, गाली बेइज्जती, पतिले पनि संम्बन्ध विच्छेद गर्न सक्ने लगायतका विषयलाई स्पष्टसँग कसुर ठहर गर्दै कारबाही हुने व्यवस्था गरेको छ । 

धर्म परिवर्तन गराए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।  

यस्तै दाइजो मागेमा वा लेनदेनको गर्नेलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा व्यवस्था गरिएको छ ।  

त्यस्तै विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था गरिएको छ । यस्तो गर्ने पुरुष र महिला दुबैलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म दण्ड जरिवाना गरिने ऐनमा उल्लेख छ । तर, नयाँ ऐनमा २ वर्षले बढाइएको छ ।  

यसैगरी विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । विहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?