निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुलाई सरकारको धन्यवाद

लोकपथ
266
Shares

काठमाडौं । सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।

आज सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतिपूर्ण रहेको बताए ।

निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतिपूर्ण रहेकोले यसमा सहजता दिन सहयोग पुर्याउने सबै निकाय र पक्षहरुलाई धन्यवाद दिएको सहसचिव पोखरेलले जानकारी दिए ।

बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाईते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना एवं मृत्यु भएकाहरुप्रति समवेदना एवं परिवारलाई राहत तथा क्षतिपूर्ति प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिनुभएको सहसचिव पोखरेलले बताए ।

सहसचिव पोखरेलले स्थानीय तहको यसपटकको निर्वाचनमा सिमित श्रोत, साधनको प्रयोग भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?