स्थानीय तह निर्वाचनबारे यसो भन्छन् एमालेका नेताहरु

लोकपथ
357
Shares

काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ आफूहरुको जनमत यथावत रहेको बताएका हुन् । उनले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफुहरुको पराजय भएको बताए । उनले एमालेको ४८ सालदेखि आएको जनमत यस निर्वाचनबाट पनि तलमाथि नभएको उल्लेख गरे ।

उनले कतै कतै पार्टीको आन्तरिक कारणहरुले पनि पार्टीले हारेको भन्दै त्यसको समिक्षा गर्ने बताए । उपमहासचिव ज्ञवालीले संसदको यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरु टुंग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताए । उनले नेकपा(एकीकृत समाजवादी)लाई सभामुख र अदालतले बचाइदिएको भएपनि जनताले नबचाइदिएको टिप्पणी गरे ।

त्यसैगरी, संसद भवनमै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का सांसद भीम रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको विभिन्न पाटाहरु भएको बताए । एमालेको विभाजन पनि हारको कारण भएको उनको भनाइ छ । पार्टीहरु प्रति जनताले हेर्ने दृष्टिकोण र वितृष्णा रहनु अर्को कारण भएको उनले उल्लेख गरे । पार्टीभित्रै अन्तर्घात हुनु पनि अर्को कारण रहेको उनले बताए ।

त्यसैगरी, एमाले सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाए । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको उनले बताए। उनले पार्टी हारको कारण उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको बताए । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उनले बताए।

सांसद भट्टराईले काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठुला दलहरुलाई चुनौती दिदैँ स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरुको निम्ति खतराको घण्टी भएको टिप्पणी गरे ।

नेकपा(एमाले)का सांसद रामवीर मानन्धरले काठमाडौँ महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरुलाई भोट नदिएको बताए । स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंबासीले परिक्षण गर्न खोजेको उनको तर्क छ ।

उनले लाखौँ जनताले स्वतन्त्र उम्मेदवारलाई मत दिइसकेपछि त्यसलाई पार्टी भित्रको अन्तर्घातको कारण त्यसो भएको भन्न नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?