ललितपुर । ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुवैले आफू विजयी हुने दाबी गरेका छन् ।
कांग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा उम्मेदवारी दिएका महर्जनले प्रारम्भिक नतिजा आफ्नो पक्षमा आएको र यसले सबै वडामा निरन्तरता पाउने भएकाले आफू फराकिलो मतान्तरले विजयी हुने प्रतिक्रिया दिएका छन् ।
यसैगरी एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले विगतको भन्दा आफ्नो पार्टीको राम्रो मत भएकाले आफू विजयी हुने तर्क दिए । महर्जनले सञ्चारकर्मीमाझ आफू विगतमा भन्दा दशौं गुणा बढि मतका साथ विजयी हुने प्रक्षेपण गरेको बताए ।
एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले ०७४ सालको स्थानीय तह निर्वाचनमा आफू ३२६ मतको झिनो अन्तरमा पराजित भएको र यस पटक भने सबै वडामा आफ्नो राम्रो भएकाले विजयी हुने उल्लेख गरे । उनले विगतमाभन्दा आफ्नो २१, २२, २३, २४, २६, २७ र २८ वडामा बढी राम्रो भएकाले विजयी हुनेमा ढुक्क रहेको बताए ।
आज दिउँसोसम्मको मतगणनाअनुसार मेयरमा महर्जनले अग्रता लिएका छन् । तर एमालेका मेयरका उम्मेदवार व्यञ्जनकार भने दुई प्रतिशत मत गणना गर्दा त्यो परिणाम आएपनि अब आफूले अग्रता दिने बताए । महर्जनले भने सबै वडामा आफ्नो राम्रो मत आउने विश्वास व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया