बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिब पाँच करोड रुपैयाँबराबरको केराखेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँबराबरको केराखेतीमा क्षति गरेको हो ।
पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँबराबरको केराखेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए ।
उनका अनुसार निजगढमा करिब १२ सय बिघामा केरा खेती गरिएकोमा करिब १२० बिघामा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा चारदेखि ६ लाखसम्म आम्दानी गर्दै आएका थिए ।
तर, बेच्ने बेला आएको हुरीले किसानको केराखेतीमा क्षति गरेको र किसानहरू समस्यमा परेको निजगढ नगरपालिका–९ का केराखेती किसान मानबहादुर श्रेष्ठले बताए ।
उखुबाट पीडित अधिकांश किसानहरूले केरा लगाएका थिए । तर केराखेती पनि हावाहुरी र असिनाले नष्ट गरेपछि यहाँका किसानहरूलाई समस्या परेको अर्का किसान नानी सञ्जेलले बताए । उनले केराखेतीमा ठूलो क्षति भएकोले राज्यले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया