पार्टीभित्रै अन्तर्घातको समस्या व्याप्त छ : कांग्रेस सभापति शेरबहादुर देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस कमजार बन्दै गएको बताएका छन् । पार्टीभित्रै एकता नहुनु नै यसको मुख्य कारण रहेको उनले खुलाए । 

गैंँडाकोटमा आयोजित डेमोक्र्याटिक लयर्स एशोसियनको १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीका सदस्यलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरे ।

पार्टीभित्रै अन्तर्घातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निदान नभएसम्म पार्टी एक हुन सक्दैन ।” कार्यक्रममा बोल्ने क्रममा उनले भने । “यो रोग निधान गर्न म प्रतिबद्ध छु ।” उनले थपे ।

नेपाली काँग्रेसको आन्दोलन गर्ने रहर नभएको भन्दै उनले भने “हाम्रो आन्दोलन गर्ने रहर होइन, सरकारले जबरर्जस्ती आन्दोलन गर्न बाध्य बनायो ।” सरकारले अप्रजातान्त्रिक कार्य गरेका कारण आन्दोलन गर्नु परेको दाबी गर्दै उनले सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह गरे ।  

डा गोविन्द केसीको माग सम्बोधन हुनु सकारात्मक भएको भन्दै उनले सहमतिमा पनि चलखेल हुनसक्ने भन्दै खबरदारी आवश्यक रहेको बताए । 

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको एकता आवश्यक रहेको भन्दै न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए । कम्युनिष्ट कमजोर होला र हामी बलियो हौंला भनेर सोच्न नहुने भन्दै उनले काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 

सभामुख र उपसभामुखमध्ये दुबै एउटै पार्टीको भएको भन्दै उनले यो संविधान प्रतिकुल रहेको दाबी गरे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?