सरकारका कामबारे डटेर कुरा राख्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिएका छन् । 

नेकपा संसदीय दलको बैठकलाई शुक्रबार  सम्बोधन गर्दै उनले आगामी असोज ३ गतेभित्र संविधान बमोजिम नयाँ कानुन बनाइसक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गरेका छन् । 

‘शीर्ष नेताहरुले सरकारका नीति तथा कार्यक्रम र बजेटका बारेमा खुलेर कुरा राख्नुपर्छ, यसले संसद् र जनतामा राम्रो सन्देश प्रवाह हुन्छ ।’ प्रधानमन्त्री ओलीले भने ।  

संसद्मा हुने अवरोधले कानुन निर्माणको कार्यसूचीलाई असर गर्ने बताउँदै प्रधानमन्त्री ओलीले सबै काम समयमै सक्न पार्टीका सांसदले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई बल दिन आग्रह गरे । 

प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएकाले बेथिति र भ्रष्टाचार घट्दै गएको उल्लेख गर्दै ‘कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छु भने।’

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र सरकारविरुद्ध भइरहेका षड्यन्त्र चिर्न आग्रह गर्दै सदनको गतिरोधको स्थितिले लोकतान्त्रिक प्रक्रियालाई नै अवरोध पु¥याउने छ भने ।  

बैठकमा चिकित्सक डा गोविन्द केसी र सरकारबीच भएको नौ बुँदे सहमतिबारे जानकारी गराइएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?