कांग्रेसमा विवाद: क्रियाशील सदस्यता कारक

काठमाडौँ – नियमित समयमै भए कांग्रेसको १४ औं महाधिवेशन अबको २० महिनामा हुनेछ । तर, भावी नेतृत्व लिने महत्त्वाकांक्षाका साथ नेताहरू आन्तरिक रणनीतिमा अहिल्यैदेखि होमिएका छन् । सतहमा नेतृत्वबीचको टकराव दुई कित्तामा देखिन्छ । आजको  कान्तिपुर दैनिकमा यसबारे विस्तृत खबर छापिएको छ ।

संस्थापन पक्षको कित्तामा सभापति देउवा स्वयं छन् । भावी नेतृत्वको पूर्वाभ्यासका रूपमा उनले आफ्नो गुट क्रियाशील बनाउन थालेका छन् । उनलाई चुनौती दिन त्यहाँभित्र अर्को नेता छैनन् । अर्को कित्ताको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । तर, त्यहाँभित्र नेतृत्वको दाबी गर्ने उनी एक्ला छैनन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलादेखि महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला उनका लागि चुनौती छन् ।

१३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा चुनाव भयो । त्यतिबेला सिटौला देउवातिर लागे । सिटौलाकै कारण देउवा पार्टी नेतृत्वमा पुगे । तिनै सिटौला यतिबेला देउवालाई जसरी पनि नेतृत्वबाट अलग गर्नुपर्ने अभियानमा छन् । सिटौलाकै शब्दमा ‘ब्ल्याङ्क चेक’ मा हस्ताक्षर गरेर दुई वर्षसम्म पार्टी चलाउन सुम्पियो । आम निर्वाचनसम्म आइपुग्दा देउवाबाट त्यसको चरम दुरुपयोग देखे र उनी संस्थापन कित्ताबाट अलग भए ।

नेतृत्व कसले लिने भन्ने निक्र्योल नभए पनि देउवालाई १४ औं महाधिवेशनबाट पूर्णविराम लगाउन संस्थापनइतर पक्ष एक ठाउँमा उभिएको छ । दुई पक्षबीच नेतृत्वको यही टकरावका कारण क्रियाशील सदस्यता वितरणमा सबैको ‘अर्जुनदृष्टि’ परेको छ ।

कांग्रेसमा दुई सदस्यीय प्रणाली छ( साधारण र क्रियाशील । पछिल्लो समय साधारण सदस्यताको अस्तित्व छैन । अहिले मुलुकभर कांग्रेसका ५ लाख क्रियाशील सदस्य छन् । १३ औं महाधिवशेनमा टुंगो नलागेका डेढ लाख सदस्य पनि १४ औं महाधिवेशनमा मतदाता बन्दै छन् । नयाँ वितरण गर्दा क्रियाशील सदस्यता अझ बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?