दुर्गा प्रसाईंमाथि कारबाहीको माग गर्दै  महिला आयोगमा उजुरी

काठमाडौं । बंगलादेशमा मेडिकल पढ्न गएका नेपाली चेलीको अस्तिमामा आँच आउने गरी अभिव्यक्ति दिएका झापा बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघले महिला आयोगमा उजुरी हालेको छ ।

मार्सी चामलको 'बिम्ब'समेत बनेका दुर्गा प्रसाईंले पत्रकार सम्मेलनमा चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न बंगलादेश जाने छात्राहरुलाई त्यहाँका प्रोफेसरहरुले करणी गरेर राखेको अभिव्यक्ति दिएका थिए । अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पनि उनको चर्को विरोध भएको थियो ।

यही घटनालाई लिएर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कारबाही माग्दै उजुरी दिएको हो ।

नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले बिहीवार महिला आयोगमा पुगेर उजुरी दिएकी हुन् । केही दिनअघि दुर्गा प्रसाईंको विरोध गर्दै महिलाहरुले उनको हस्पिटलमा पनि कालो झण्डा प्रदर्शन गरेका थिए ।

‘महिलाको चरित्र हत्या गर्ने छुट प्रसाईंलाई कुनै कानूनले दिएको छैन, प्रसाईंलाई कारबाही नगरी त्यसै छाड्दा उसको उदण्ड व्यवहारलाई थप प्रोत्साहन हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘राज्य स्वयमले जानकारीमा लिई कारबाही गर्नुपर्नेमा हालसम्म कहीँ कतैबाट कुनै प्रकारको कारबाही अगाडि नबढाइएकाले बाध्य भइ यो निवेदन दर्ता गरेका छौं ।’

नेविसंघ केन्द्रीय सदस्य जानुका पन्त, नमराज त्रिपाठी, त्यस्तै विद्यार्थी नेताहरु तुलसा पन्त, सुमधुर बराल, सुवास घिमिरे लगायतका नेताहरु पुगेर महिला आयोग पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?