राष्ट्रियसभा बैठक स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ ।

बैठकको शुरु मै कांग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनुभएको थियो ।

काँग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि केही समय प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमा भनाभन भएको थियो ।

अध्यक्ष तिमिल्सिनाको पटक पटकको आग्रपछि पनि काँग्रेसका सदस्यहरुले आसन ग्रहण नगरेकाले बैठक स्थगन गरिएको थियो ।

प्रतिपक्षले विरोधका जनाइरहँदा पनि नेकपाका प्रमुख सचेतक  भट्टराईले पछिल्लो समय विकसित राजनीतिक घट्नाप्रति सत्तापक्ष जिम्मेवार रहेकोले सदनलाई रोक्नु आवश्यक नरहेको धारणा राख्दै कार्यसूचीमा प्रवेश गर्न अध्यक्षसंग  आग्रह गरेका थिए ।

आजको बैठकमा अध्यक्षबाट राष्ट्रियसभाका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची थियो ।

राष्ट्रियसभाको अर्काे बैठक यही साउन ९ गते बिहान ११ बजे बस्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?