काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४÷७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ ।
उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, जथाभावी सवारी साधन रोक्ने, क्षमताभन्दा बढी सामान राखेर हिँड्ने, सिटबेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाहीवापत महाशाखाले उक्त राजश्व संकलन गरेको हो ।
महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले गत आर्थिक वर्षमा चार लाख ७१ हजार ९६८ सवारीसाधन कारवाही गरेवापत उक्त राजश्व संकलन गरिएको जानकारी दिए ।
“ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई प्रत्यक्ष, सिसी क्यामेरा, वडीवन क्यामेरा र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट कारवाही गरिरहेका छौँ”, उनले भने ।
महाशाखाले आव २०७३÷७४ मा रु ३५ करोड ६० लाख ६७ हजार ९००, आव २०७२÷७३ मा रु १५ करोड ८२ लाख ९१ हजार २७५, आव २०७१÷७२ मा रु १४ करोड ४९ लाख ९७ हजार ५८५ राजश्व संकलन गरेको थियो ।
यसैगरी आव २०७३÷७४ मा छ लाख ३९ हजार ६११, आव २०७२÷७३ मा पाँच लाख ४८ हजार ४७०, आव २०७१÷७२ मा पाँच लाख ६९ हजार ६४० सवारी साधनलाई महाशाखाले कारवाही गरेको थियो ।
वाग्मती अञ्चलमा ठूलासाना गरी झण्डै ११ लाख सवारीसाधन दर्ता रहेका छन् । तीमध्ये नौ लाख सवारीसाधन उपत्यकामा सञ्चालन हुँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया