काठमाडौंमै प्रधानमन्त्री ओलीलाई कालोझण्डा, नेविसंघका १० कार्यकर्ता पक्राउ

काठमाडौं । काठमाडौंमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल विद्यार्थी संघले कालोझण्डा देखाएको छ । 

शनिबार त्रिभुवन विश्वविद्यालयको ५९ औँ वार्षिक दिवस र सिनेट बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाएका थिए । 

सो क्रममा नेविसंघका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा नेविसंघ त्रिभुवन विश्व विद्यालयका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत १० जना रहेका छन् ।

२२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न गम्भीरता नदेखाएको, दुई तिहाईको नाममा अधिनायकवाद चरित्र प्रदर्शन गर्न खोजेको लगायतका आरोप लगाउँदै त्रिभुवन विश्व विद्यालयमा प्रम ओलीलाई कालो भण्डा देखाउने प्रयास गरेका थिए । 

सो क्रममा प्रहरीले लाठीचार्ज गर्दै योगेन्द्र रावल घाइते भएका छन् । उनको कीर्तिपूर हस्पिटलमा उपचार भइरहेको बताइएको छ । 

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा राखिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?