रुकुम(पूर्व)मा १६ हजार बढी बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । देशव्यापीरूपमा चलिरहेको खोप अभियानअन्तर्गत जिल्लाका १६ हजार ५९८ बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व)ले जानकारी दिएको छ ।
टाइफाइडविरुद्धको खोप लगाउने १५ महिनादेखि १५ वर्ष उमेर समूहका जिल्लाको लक्षित जनसङ्ख्या १७ हजार १७७ रहेको स्वास्थ्य कार्यालय रुकुम(पूर्व)का सूचना अधिकारी एवं ल्याब टेक्निसियन निरीक्षक निमप्रसाद गिरीले जानकारी दिए ।
जिल्लामा लक्षित जनसङ्ख्याको ९६.६३ प्रतिशत बालबालिकाले खोप लगाएको सूचना अधिकारी गिरीले बताए । उनका अनुसार जिल्लामा १५ देखि २३ महिनासम्मका ८६० बालबालिका र २ देखि १५ वर्ष उमेर समूहका १५ हजार ७३८ बालबालिकालाई खोप लगाइएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिकामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका लक्षित बालबालिकाको सङ्ख्या पाँच हजार ५९१ रहेकोमा त्याहाँ १०० दशमलव ५७ प्रतिशत अर्थात् पाँच हजार ६२६ बालबालिकालाई खोप लगाइएको छ ।
पुथामा लक्षित जनसङ्ख्याभन्दा बढीलाई खोप लगाइएको सूचना अधिकारी गिरीले बताए । भूमे गाउँपालिकामा पाँच हजार १५८ लक्षित खोप लगाउने बालबालिकाको सङ्ख्या भएकामा त्यहाँ ९५.०२ प्रतिशत अर्थात् चार हजार ९०१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व)ले जनाएको छ ।
सिस्ने गाउँपालिकामा टाइफाइड विरुद्धको खोप लगाउने लक्षित बालबालिकाको सङ्ख्या छ हजार ४२८ थियो । यहाँ ९४ दशमलव ४९ प्रतिशत अर्थात छ हजार ७४ लाई खोप लगाएको सूचना अधिकारी गिरीले बताए ।
जिल्लामा गएको चैत्र २५ गतेबाट २९ गतेसम्म खोप अभिययान सञ्चालन गरिएको तर अभियानमा सबैलाई समेट्न नसक्दा अहिले पनि स्वास्थ्य संस्थाबाट छुटेकालाई खोप लगाइरहेको उनको भनाइ छ । रुकुम(पूर्व)मा २९६ खोप केन्द्रबाट १५ महिनालेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया