(ने.क.पा.) ले भातृसंगठनको मर्यादामा ‘बुल्डोजर’ चलायो

काठमाडौं : सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले अाफ्ना भातृसंगठनका पदाधिकारीको मर्यादाक्रम खारेज गरेको छ ।

यसअघि जिल्ला कमिटी सदस्यसरहको हैसियतमा रहेका 'जनसंगठन' का सदस्यहरूबीच मर्यादालार्इ लिएर चर्को विवाद भएको थियो । के.पी. अोली नेतृत्वको तत्काली एमाले र पुष्पकमल दाहाल नेतृत्वको माअोवादी केन्द्रबीच पार्टी एकता भएपछि भातृसंगठनहरूको एकीकरणक्रममा मर्यादाक्रम विवाद निस्किएको थियो ।

अब पार्टीनिकट कुनै पनि भातृसंगठनका सदस्यले मर्यादाक्रममा अाफ्नो स्थान बनाउन पार्टीकै कुनै कमिटीको सदस्यता लिनुपर्नेछ । भातृसंगठनका पदाधिकारीको मर्यादाक्रमको व्यवस्था नै हटाएर (ने.क.पा.) ले नयाँ नियमावली छपार्इका लागि पठाएको छ । 

भातृसंगठनमा रहेपनि अब यस्ता संगठनका हरेक सदस्यले पार्टीको कुनै न कुनै संगठनमा बसेर काम गर्नुपर्ने सो नियमावलीमा उल्लेख छ । अब भातृसंगठनमा भएकै अाधारमा कुनै कार्यकर्ताले कुनै मर्यादा नपाउने व्यवस्था गरिएको (ने.क.पा.) का एक नेताले जानकारी दिए । 

भातृसंगठनको मर्यादाक्रम खारेज गरिएपनि पार्टीकै माथिल्लो तहको जिम्मेवारीमा रहेका नेताहरूलार्इ भने थप शक्ति र अधिकार दिर्इएको छ । अब अनुशासन, लेखा र निर्वाचन अायोगका अध्यक्षको मर्यादा स्थायी कमिटी सदस्य बराबरको र सचिवहरूको मर्यादा पोलिटब्युरो सदस्यकै हैसियतको हुने व्यवस्था नयाँ नियमावलीमा उल्लेख छ । यी पदाधिकारीहरू सम्बन्धित कमिटीको बैठकमै सहभागी हुन सक्नेछन् । 

'बेलुन कमिटी' लार्इ वैधानिकता 

'चुस्त र दुरूस्त पार्टी संगठन'को नारा लगाएको (ने.क.पा.) को केन्द्रीय कमिटीदेखि तल्ला संगठन नै निकै भद्दा र ठूलो अाकारको हुने देखिएको छ । संगठन विन्यास हेर्दा अब (ने.क.पा.) का स्थानीय संगठनहरूमा 'सबै नेता' बन्ने देखिन्छ । 

केन्द्रीय कमिटीको संख्या नै २ सय ९९ सय बाट बढाएर ४ सय ४१ बनाएको (ने.क.पा.) ले प्रदेश र जिल्ला कमिटीहरू पनि न्यूनतम १ सय २५ सदस्यीय बनाउने निर्णय गरेको छ । 

एउटै मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको कमिटी १ सय २५ सदस्यीय रहने नियमावलीमा उल्लेख छ । यस्तै, २ वा बढि निर्वाचन क्षेत्र रहेका जिल्लाहरूको पार्टी कमिटीमा १ निर्वाचन क्षेत्र बराबर थप १० जना सदस्य थप्ने प्रस्ताव गरिएको छ । 

प्रदेश कमिटी न्यूनतम १५१ सदस्यीय हुने र प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना सदस्य थपिने नियमावलीमा व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?