काठमाडौ । तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीका अधिकांश नेतृत्व तहका नेताहरूले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई नेतृत्व सुम्पेर पार्टीलाई हाँक्नुपर्ने अभिमत जाहेर गरेपछि अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले राजनीतिक स्पेस खोज्न थालेका छन् ।
सद्भावना पार्टीमा पार्टी नेतृत्व कब्जा गर्न समूहका नेताको रूपमा चिनिएका महतो पार्टीका नेताहरूले ठाकुरप्रति समर्थन जाहेर गरे पछि तर्सिएको पार्टीका नेताहरूको भनाइ छ ।
शनिबार संसदीय दलको निर्वाचन हुन लागेको छ । पार्टीले अधिवक्ता सुरेन्द्र महतोको नेतृत्वमा एक निर्वाचन समिति बनाइएको पार्टीका उपाध्यक्ष सत्यनारायण मण्डलले जनाए ।
निर्वाचन समिति बनाइएपनि पार्टी भित्र सहमतिको प्रयास भइरहेको उनले जनाए ।
पार्टीमा राजनीतिक वरियताका हिसाबले ठाकुर भन्दा अरू कोही बरिष्ठ नभएकाले यो महाधिवेशनबाट पार्टीको अध्यक्ष पद पनि उनलाई सुम्पनुपर्ने आवाज उठ्न थालेपछि महतोलाई पीर परेको हो ।
नेपाल सदभावना पार्टीलाई शाहीकालका बेला सरकारमा जान बद्री मण्डलले निर्णय गरेपछि अर्को समूहले पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहकी पत्नी आनन्दीदेवीको नेतृत्वमा पार्टी फुटाएको थियो । आनन्दी देवी नेतृत्वको समूहले आन्दोलनमा सहभागी भइ शाहीकालको विरोध गर्न पुगको थियो । त्यो समूहको नेता बन्न महतोले गरेको छलछामबाट परिचित एक नेताले भने “ महतोजी थाहा छ नेतृत्व भनेको के हो त्यसैले ठाकुरमा नेतृत्व जाँदा उनको मनमा चीसो पस्नु स्वाभाविक हो ।”
राजपाको अध्यक्ष मण्डलका एक अध्यक्ष अनिलकुमार झा पनि कुनै बेला महतोलाई सघाएका मधेशवादी नेता हुन् । तर पछि महतोसँग विवाद भएपछि आफै पार्टी खोलेका थिए । तर अहिले ठाकुरको समर्थन गरिरहेका पार्टीका नेताहरूको भनाइ छ ।
राजपामा दुई अध्यक्षहरू शरतसिंह भण्डारी र राजकिशोर यादव पहिलो संविधान सभाका बेला उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा थिए । मन्त्री बन्न सरकारमा जान पटक पटक पार्टी टुटफुटको क्रममा दुबैले छुट्टा छुट्टै पार्टी बनाएका थिए ।
महेन्द्र राय यादव मधेश आन्दोलनका बेला एमालेमा थिए । पहिलो संविधान सभाको निर्वाचन हुन अघि ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा थिए । तर मन्त्री बन्न र पार्टी फुटाउन भएको चलखेलमा फसेर यादवले ठाकुरसँग अलग भएर पार्टी बनाएका थिए ।
अहिले महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवले ठाकुरलाई नेतृत्व दिनुपर्ने कुरो राखि सकेकाले महतोलाई समस्या परेको नाम नखुलाउने शर्तमा पार्टीका एक नेताले बताए ।
नेपाली कांग्रेसमा कोषाध्यक्ष रहेका ठाकुरले सो पद त्याग गरी तमलोपा गठन गरेका थिए ।
पार्टी पंक्तिका नेताहरूका अनुसार मधेशमा राजनीतिक रूपमा सक्रिय विभिन्न राजनीतकि समूह राजपामा मिल्न लागेको छ । यसका लागि ठाकुरको नेतृत्व हुनुपर्ने उनीहरूको बुझाइ छ ।
पार्टीमा ठाकुर पछि महतोका सांसदहरूको संख्या अन्य चारको तुलनामा धेरै छ । उनले चाहे ठाकुरसँग प्रतिस्पर्धा गर्न सक्छन् । तर परिणाम भने ठाकुरको प्रतिकूल भने जान सक्ने स्थिति नभएकोले उनी पहल लिन उत्सुक देखिएका छैनन् ।
पार्टीका एक नेताले भने “महतो जी जानी जानी आफ्नो कमजोर हैसियतको प्रदर्शन गर्न संसदीय दलको नेतामा उम्मेदवारी देलान जस्तो लाग्दैन् ।”
महतोलाई भने भण्डारीको साथ रहेको छ । भण्डारीले सरकारमा जान खोजेका थिए । तर ओलीले गरेको सो प्रस्तावलाई ठाकुरले तुहाइ दिएपछि भण्डारी महतोलाई समर्थन गर्न पुगेका हुन् । महतो र भण्डारी दुबैले सरकारमा सहभागी हुने लाइनको वकालत गर्ने नेताको रूपमा चिनिएका छन् ।
ठाकुर भने राजनीतिक एजेन्डा जोगाएर तत्काल सरकारमा नजाने लाइन लिएपछि महतो र भण्डारीको एक समूह बनेको देखिन्छ ।
अहिले संसदीय दलको नेता गुम्ने र महाधिवेशनबाट अध्यक्ष पद गुम्ने भएपछि महतोले विधान परिमार्जन समूहमा सामेल लक्षमण लाल कर्णलाई महाधिवेशन प्रतिनिधिमा आफ्नो समूहको प्रतिनिधित्व गराउने गरी विधानमा प्रावधान घुसाउन भनेको स्रोतको भनाइ छ ।
विधान परिमार्जन समितिका तीन जना मध्ये लक्षमण लाल कर्ण बाहेक अन्य दुई जना ठाकुर पक्षीय नेता मानिन्छ । उपाध्यक्षद्वय सर्वेन्द्र नाथ शुक्ल र बृषेशचन्द्र लाल ठाकुर पक्षीय नेता विधान परिमार्जन समितिमा परेकाले महतोलाई थप आंशका पैदा भएको छ ।
अहिले राजपाको केन्द्रीय समितिमा ठाकुर समूह पछि सबै भन्दा बढी सदस्य महतोकै रहेको छ । अनि पार्टीमा राजनीतिक वर्चस्व कायम गर्ने खोजी गरिरहेका छन् ।
राजपाका अधिकांश युवा पार्टीलाई संरचनात्मक आधार दिएर बलियो पार्नु माग गरिरहेका छन् । पार्टीले एक अनुशासित प्रणालीको विकास ग¥यो भने व्यक्ति ठूलो नभइ पार्टी ठूलो हुन पुग्छ ।
महाधिवेशनबाट पार्टीलाई बलियो पार्ने काम हाम्रो जिम्मेवारी रहेको पार्टीका सहमहामन्त्री डा. सुरेन्द्र झाले बताए ।
उनले भने “महाधिवेशनबाट पार्टीले ठोस स्वरूप ग्रहण गर्नेछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया