एमसीसी पारितसँगै नेपाल तीन ढुंगाबीचको तरुल भयो : अशोक मेहता

लोकपथ
728
Shares

नयाँदिल्ली । भारतीय सेनाका पूर्वजर्नेल तथा नेपाल मामिलाका जानकार अशोक मेहताले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै नेपाल तीन ढुंगाको तरुल भएको टिप्पणी गरेका छन् ।

पृथ्वीनारायण शाहको उदाहरण दिँदै पूर्वजर्नेल मेहताले एमसीसीले चीनलाई पराजित गरेर नेपाल प्रवेश गरेको उल्लेख गर्दै नेपाल तीन ढुंगाबीचको तरुल भएको टिप्पणी गरेका हुन् ।

‘यसबेला हामी पृथ्वीनारायण शाहले याद गर्छौ, उनले कुनै बेला भनेका थिए, नेपाल दुई ढुंगाबीचको तरुल हो, अब नेपाल तीन ढुंगाबीचको तरुल हुन पुगेको छ,’ मेहताले भने, ‘किनभने अमेरिका पनि नेपालमा आयो, यसअघि अमेरिका कहिल्यै नेपाल आएको थिएन, उ अलि पछाडि नै थियो । तर, अहिले एमसीसीमार्फत इन्डो-प्यासोफिक रणनीति लागू गर्न अर्थात चीनलाई घेर्ने जुन रणनीति बनाएको थियो, त्यो अब अमेरिकाले गर्छ ।’

एमसीसी पारित भएसँगै नेपालमा चीन पराजित अवस्थामा रहेको भनेर पटक-पटक उल्लेख गरेका मेहताले एमसीसीले चिनियाँ सहयोग बिआरआईलाई रोक्ने जिकिर पनि गरेका छन् ।

‘यसको मतलब यो होइन कि एमसीसीले सबै काम गर्छ । तर, एमसीसीले बिआरआईलाई भने रोक्छ, देख्नुभयो नि बिआरआईमा चीनले अहिलेसम्म पैसा पनि हालेको छैन,’ मेहताले अगाडि भने, ‘बिआरआई सन् २०१७-१८ देखिको कुरा हो, कतिवटा रेल्वे लाइन, कतिवटा कोरिडर बनाउने भन्ने कुरा थियो नि ? अहिलेसम्म त्यो बन्यो त बनेन नि, त्यसलै एमसीसीमा चीनले हारेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?