कांग्रेसले बहुमत नल्याएसम्म नेपाल सहीबाटोमा जान सक्दैन : प्रवक्ता डा. महत

लोकपथ
231
Shares

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान नसक्ने बताएका छन् ।

उनले नुवाकोट जिल्लाको लिखु ४ अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव तथा छात्रवृत्ति वितरण समारोहमा प्रमुख अतिथिको रुपमा समुद्घाटन मन्तव्य प्रकट गर्दै सो कुरा बताएका हुन् ।

प्रवक्ता डा.महतले २०४६ सालमा लोकतान्त्रिक व्यवस्थाको पुनर्बहाली भएपछि नेपाली कांग्रेसले लिएका उदारवादी नीतिहरुले गर्दा देशमा शिक्षा,स्वास्थ्य,बाटोघाटो,खानेपानी र विजुलीको क्षेत्रमा विकास भएको पनि उल्लेख गरे ।

कम्युनिष्ट पार्टीहरुले काम हैन कुरा बढी गर्ने गरेको उदाहरण दिंदै उनले भने,“अघिल्लो चुनावमा कम्युनिष्ट पार्टीका नेताहरुले गरेको गफमा सामान्य मतदाता झुक्किदा नेपाली कांग्रेस पराजित भयो । २ बर्षमा चीनबाट रेल ल्याउने, समुन्द्र नभएको देशमा पानी जहाज ल्याउने कुरा गरेर उहाँहरुले चुनाव जित्नुभयो तर ५ बर्षलाई दिएको जनादेश साढे ३ बर्ष पनि टिकाउन सक्नुभएन । पार्टी नै फुट्यो । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न अन्य पार्टीले अनुरोध गरेपछि कांग्रेसको नेतृत्वमा वर्तमान सरकार बन्न पुगेको हो ।”

प्रवक्ता डा.महतले पूर्ववर्ति नेकपा एमालेको नेतृत्वको ओली सरकारको आलोचना गर्दै कोरोना संक्रमणको समयमा औषधी खरिदमा समेत भ्रष्टाचार गरिएको आरोप लगाए ।

“देशमा सुशासन कायम गर्न र विकासलाई गति दिन स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जित्न जरुरी छ। प्रदेश र संघीय संसदको निर्वाचनमा नेपाली कांग्रेसले जित्न जरुरी छ ।”, डा. महतले भने ।

उनले नुवाकोट जिल्लाको विकासलाई गति दिने काम पनि नेपाली कांग्रेसको पालामा भएको उल्लेख गरे । ओली सरकारको पालामा नुवाकोटको बजेट कटौैती भएको प्रसंग निकाल्दै उनले भने,”हिजो डा. रामशरण महतले चुनाव जित्दा नुवाकोटमा अर्बमा बजेट आउथ्यो । ओली सरकारको पालामा त्यो करोडमा झर्यो र त्यै बजेट पनि उपभोक्ता समिति बनाएर बाँडीचुडी खाएको गुनासो आइररहेको छ ।”

आफू ऊर्जामन्त्री हुँदा नुवाकोटमा ग्रामीण विद्युतीकरण गरेर नुवाकोटलाई अन्धकारबाट उज्यालोतिर लैजाने प्रयास गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?