विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि खानेपानीको लाइन काटिएको थियो ।
विद्युत् कार्यालयको रु आठ लाख बक्यौता नतिर्दा चैत २ गतेदेखि विद्युत् काटिएको हो । अहिलेसम्म पनि त्यहाँ विद्युत् जडान गर्न कुनै पहल भएको छैन भने पानीको लाइन काटिएको पनि दुई हप्ता हुन लाग्यो । आधुनिक बसपार्क बनाएपछि त्यहाँ ५२ वटा सटर भाडामा छन् । विद्युत् नहुँदा त्यहाँका होटल व्यवसाय ठप्प छन् । गर्मी मौसम सुरु भएसँगै फ्रिज चलाउन र मोबाइल पसलमा अनिवार्य विद्युत् चाहिन्छ ।
टिकट काउन्टरमा टिकट काट्न, शौचालय जान समस्या छ । विद्युत र पानीको समस्या समाधान गर्न कतैबाट पनि पहल नभएको स्थानीय व्यवसायीहरू बताउँछन् । “विद्युत् नहुँदा हाम्रो व्यवसाय नै चौपट्ट भएको छ”, सटरमा व्यवसाय गर्दै आएकी प्रमिला कठायतले बताइन् ।
विसं २०७७ देखि त्यहाँ व्यवसायीलाई सटर भाडामा प्रदान गरिएको हो । त्यतिबेला भाडामात्रै तिर्ने तर, पानी विद्युत्को नतिर्ने सहमति भएको अर्का व्यवसायी जिए नेपालीले बताए । तर अहिलेसम्म त्यहाँ कुनै विद्युत् महसुल बुझाइएको छैन ।
ठेकेदार कम्पनीले भने त्यस्तो कुनै लिखित सहमति नभएको बताएको छ । “पहिले पनि मैले नै ठेक्का पाएको थिएँ”, बुढाथोकी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भीमबहादुर बुढाथोकीले भने, “त्यतिबेला पनि सटर लिनेलाई पानी, विद्युत्को मात्रै तिर्ने भन्ने कुनै लिखित सहमति भएको थिएन ।” अहिले पनि पुनः बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको छ । फागुन २० गतेदेखि बसपार्कका लागि सोही सप्लायर्सलाई काम गर्ने गरी कार्यादेश दिइएको छ । सोही कम्पनीले पनि यसअघि पनि बसपार्क पूर्वाधार शुल्क उठाउने जिम्मा लिएको थियो । तर केही समयमै त्यो सम्झौता तोडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया