काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा नायक पल शाहविरुद्ध बिहीबार नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पलले एक नाबालिगमाथि बलात्कार गरेको अभियोगसहित मुद्दा दायर गरेको हो ।
एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएकी थिइन् ।
पलविरुद्ध पहिलो चरणमा सात दिन र दोस्रो चरणमा १२ दिनको म्याद थप भएको छ । दोस्रो पटक थपेको म्याद आज सकिँदै छ । तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो ।
तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन । जसका कारण शाहमाथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतले बताएको छ ।
पलले भने गैँडाकोटमा आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् । तर बाहिरिएका अडियोलाई प्रहरीले फरेन्सिक ल्याबमा पठाएको र म्यासेज, कल, घटनालाई पुष्टि गर्ने अन्य प्रमाणहरू समेत संकलन गरेका कारण अभियोग पुष्टि हुनसक्ने प्रहरीस्रोतले बताएको छ ।
गैँडाकोटमा रहेको रिसोर्टमा पल १०१ नम्बरको कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसेको बताइएको छ । सोही राति पल किशोरीको कोठामा गएर जबरजस्ती करणी गरेको उनीविरुद्ध आरोप छ ।
प्रहरी अनुसन्धानका क्रममा सुटिङ युनिट रिसोर्टमा बसेको पुष्टि भएको छ । रिसोर्ट सञ्चालकले भने कुन कोठामा को बस्यो भन्नेबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धानका लागि ५ दिनको समय माग गर्न लागिएको बताएको छ । यदि अदालतले ५ दिनको समय दिएको अवस्थामा यो नै अन्तिम पटक म्याद थप हुनेछ । त्यसपछि अदालतमा अभियोग दर्ता भई थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
पीडित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले बलात्कार गरेको बयान दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया