काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि काठमाडौंको शान्ति बाटिका र माइतीघर मण्डलामा भेला तथा विरोध प्रदर्शन गर्न रोक लगाएको छ । 

नागरिकको हक खोस्न नपाइने मागसहित विरोधमा प्रर्दशन गर्न गएका विवेकशील साझा पार्टीका सहअध्यक्ष उज्जवल थापासहित एक दर्जनलाई प्रहरीले पक्राउ गरेको समेत गरेको छ ।  पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर सिंहदरवार लगिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । 

शान्ति बाटिका र माइतघर मण्डलालगायतका क्षेत्रमा प्रर्दशन तथा धर्ना गर्न नपाउने सरकारको निर्णयपछि यसको आलोचना भएको थियो । गृहमन्त्रालयले काठमाडौंको खुल्लामञ्च, तिनकुनेस्थित खाली चउर, स्वयम्भुको भगवानपाउस्थित खुल्ला जमिन, पेप्सिकोला खेल मैदान, सानो गौचरण, लैनचौरस्थित खाली जमिन र गौशालाको सिफल चउरमा मात्र विरोध प्रदर्शन गर्न पाउने जनाएको छ ।

यसैगरी ललितपुरको च्यासल खेल मैदान, गोदावरी बसपार्कसँगै रहेको खुल्ला जमिन, भैंसेपाटीको छ्यासिकोट, बज्रबाराही मन्दिर नजिकैको खाली जमिन, लुभुको ससमु चौर र घोविघाट नजिकै रहेको खुल्ला जमिनमा मात्र अब प्रदर्शन गर्न पाइनेछ ।

भक्तपुर जिल्लामा भने सरकारले एक स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाउने स्थानको रुपमा तोकेको छ । भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको ९९ रोपनी जग्गामा मात्र विरोध प्रदर्शन गर्न पाउने गृह मन्त्रालयले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?