वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने

लोकपथ
154
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ । आज प्राधिकरणको २४औँ वार्षिकोत्सव समारोहमा प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी वैशाखदेखि नेपालमा सञ्चालित अवैध फोन नियन्त्रणमा ल्याउने प्रविधि सञ्चालनमा ल्याइने बताए ।

प्राधिकरणले गत साउन १ गतेदेखि आंशिक रूपमा अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको थियो । सो अवधिदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरे पनि पूर्ण रूपमा प्रविधि जडान हुन सकेको छैन । उनले एमडिएमएसका लागि आवश्यक पर्ने सफ्टवेयर आयात गरी जडानको काम सम्पन्न भएको भन्दै वैशाख १ गतेदेखि सो प्रविधि सञ्चालनमा ल्याइने बताए ।

“सर्भिस प्रोभाइडर छनोट गरी हाल इम्पोटर मोडल सञ्चालनमा आइसकेको छ, अब कस्टम मोडल सञ्चालनको तयारीमा हामी छौँ, अब बाँकी केही काम सकेर वैशाखदेखि नै सञ्चालनमा ल्याउँछौँ”, उनले भने । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुष्ठ अर्यालले प्राधिकरणले एमडिएमएस जडानका लागि धेरै भाका (जडानको समय) सार्ने गरेको बताए। “एमडिएमएस लागू गर्ने भाका धेरै सार्नुभयो, अब भाका नसारी छिटो अवैध फोन नियन्त्रणमा ल्याउनेतर्फ लाग्नुस्”, उनले अध्यक्ष खनाललाई भने ।

एमडिएमएसको सफ्टवेयर तथा हार्डवेयर राख्न प्राधिकरणले चाबहिलमा भवन निर्माण गरेको छ । निर्माणाधीन भवन प्राधिकरणलाई हस्तान्तरण भएसँगै एमडिएमएसका सम्पूर्ण कार्य सोही स्थानबाट हुने प्राधिकरणले जनाएको छ । एमडिएम सिस्टमले कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने काम गर्छ ।

प्राधिकरणले विसं २०७६ असारमा ६ महिनाभित्र उक्त सिष्टम जडान गर्न भन्दै ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिङ्गापुरको ज्वाइन्ट भेन्चर छनोट भएको थियो । उक्त कम्पनीलाई एमडिएमएस जडान गर्न ८० करोड बराबरको ठेक्का दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?