काठमाडौं । युद्धरत देश युक्रेनमा रहेको नेपालीहरुको अवस्था बुझ्न र उद्धार गर्न गैरआवासी नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्तसहितको टोली युक्रेन र पोल्याण्डको सीमानाका मेडिकामा पुगेको छ ।
रसियाले आक्रमण गरेपछि समस्यामा परेका नेपालीहरुको अवस्था बुझ्न र उनीहरुलाई सुरक्षित गन्तव्यतर्फ ल्याउने प्रयास भइरहेको पन्तले बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पन्तले भनेका छन्, ‘युद्धका कारण युक्रेन छोडेर सीमावर्ती देश प्रवेश गर्ने नेपाली दिदीबहिनी तथा दाजुभाईको अवस्थाबारे बुझ्न म युक्रेन र पोल्याण्डको सीमानाका मेडिकामा छु । अझै पनि केहि साथिहरु युक्रेन पट्टीको समस्याका कारण पास हुन सकिरहनुभएको छैन । हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने बारे कोशिस जारी राखेका छौं ।’
उनका अनुसार त्यहाँ रहेका नेपालीहरुलाई कुटनीतिक तबरबाट उद्धारका लागि युक्रेनस्थित नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको र युक्रेनमा रहेका नेपालीहरुलाई धैर्यता गर्न आग्रह गरेका छन् । त्यस्तै सोमबार राति नै युक्रेनमा रहेका ५० प्रतिशत नेपालीहरुलाई रेल र बसमार्फत वार्सातर्फ लगिन लागिएको उनले बताए ।
‘कुटनीतिक सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारे महामहिम राजदूत ज्यू रामकाजी खड्कासँग छलफल पनि जारी छ । यो युद्धको कठिन घडिमा चाहँदा चाँहदै पनि कतिपय विषय भनेजसरी अघि बढ्न सकिरहेको छैन । अब हामीले प्रयास जारी राखेकाले केहि समय धैर्य गर्न म युक्रेनपट्टी रहनुभएका साथीहरुलाई आग्रह गर्दछु । हिजो सिमानामा रहनुभएका साथिहरुमध्ये करिब ५० प्रतिशतलाई वार्सा लगायतका सहरमा राती नै यहाँ अहोरात्र खटिरहनुभएका साथिहरुले रेल र बस चढाएर अहिले गन्तव्य तर्फ जाँदैहुनुहुन्छ ।’ उनले भने ।
त्यसैगरी युक्रेनमा रहेका नेपालीहरुको छिटो उद्धारका लागि सबैसँग सहयोगको अपील गर्दै सक्दो चाँडो उद्धार गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया