महाशिवरात्रिका लागि यसरी गरिँदै छ ट्राफिक व्यवस्थापन

लोकपथ
924
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।

‘महाशिवरात्री पर्व विशेष ट्राफिक व्यवस्थापन योजना’ बमोजिमको सम्पुर्ण तयारी पूरा गरी सो अवधिभर खटिने प्रहरी अधिकृत तथा अन्य खटिने कमाण्डरहरुलाई ट्राफिक प्रहरीको भूमिका, ट्राफिक व्यवस्थापन गर्दा भक्तजन तथा दर्शनार्थीसँग गर्ने व्यवहार र पार्किङ क्षेत्रमा गर्नुपर्ने सहजीकरणका बारेमा ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले ब्रिफिङ गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका छन्।

पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एवं दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाएको छ ।

धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उहाँहरुको सुविधाका लागि निर्बाध आवतजावतको व्यवस्था मिलाइएको छ भने गौशाला क्षेत्र आसपासमा छुट्टा छुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरु समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाधरुपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरुको भिडभाड अत्याधिक भई सवारी सञ्चालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट चाल्नको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी जोशीले बताए ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क(गौशाला(तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरि वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइने समेत एसएसपी जोशीले जानकारी दिए।

विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एव भक्तजनहरुका सवारीसाधनहरुलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ ।

यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारीसाधन र बनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र वाग्मती करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरुलाई सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइने समेत बताए ।

महाशिवरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यबस्थित एवं प्रभावकारी बनाउनको लागि करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुने समेत जानकारी दिए।

ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारीसाधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?