छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

लोकपथ
119
Shares

काठमाडौं । झापा, धनकुटा, पाल्पा, पर्वत, दाङ, मोरङ र रूपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सावरी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

झापा, अर्जुनधारा नगरपालिका-९ स्थित भित्री सडकमा को. ९ प १७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय राजेन्द्र थापाको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनकुटा, पाख्रिवास नगरपालिका-६ फलाटेस्थित भित्री सडकमा को. २ त ७११ नम्बरको ट्याक्टर ब्रेक फेल भई पल्टिएर आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय बम बहादुर राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पाल्पा, रम्भा गाउँपालिका-१ फडीयार खोलास्थित सडकमा लु. ७ प ५०४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-१ असर्दी बस्ने १७ वर्षीय सन्दिप न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पर्वत, कुश्मा नगरपालिका-८ परादीस्थित सडकमा बा.१० च ४३७२ नम्बरको कार आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा कारमा सवार पुगलीबजार नगरपालिका-१ बस्ने ४ वर्षीय आरम्भ कोइरालाको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारका चालक समेत ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरातर्फ पठाइएको छ ।

त्यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासस्थित सडकमा बा.३ ख ८६४३ नम्बरको हाईस र हाल नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र हाईसमा सवार २ गरी ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । हाईस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलको ट्याङ्की अचानक पड्किएर आगलागी समेत हुँदा दुवै सवारी साधन पूर्णरूपमा जलेर क्षति भएको छ । प्रहरीले दमकल तथा स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।

यसैगरी दाङ, तुलसीपुर उमहानगरपालिका-१८ डाँडागाउँस्थित सडकमा लु.१ च ६२८९ नम्बरको पिकअप र रा.५ प ९०६६ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगपालिका-१७ फोर्टीनाईन चोक बस्ने २५ वर्षीय तारा बहादुर केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-६ ओमशान्तिहल नजिक रा।५ प ४४९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिद्युतको पोलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-६ हात्तिखौवा बस्ने ३० वर्षीय मोहन सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-३ स्थित सडकमा को. १४ प ९४५८ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिजुलीको पोलमा आइतबार राति ठक्कर खाँदा स्कुटर चालक बिराटनगर महानगरपालिका-३ डेरा गरी बस्ने सप्तरी घर भएका ३६ वर्षीय हरि भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-१३ स्थित भित्री सडकमा लु. ४५ प ९९६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१४ टिकुलिगड बस्ने ४६ वर्षीय ऋषिराम पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?