एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सिपी गजुरेल

लोकपथ
161
Shares

काठमाडौं । देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन् ।

शुक्रबार एमसीसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा भातृ संगठनहरुले काठमाडौंमा गरेको बिरोध प्रदर्शनका क्रममा बोल्दै अध्यक्ष गुजरेलले एमसीसी संसदबाट पास भए राष्ट्रिय युद्धको खतरा रहेको बताएका हुन् । उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसीसी पास गराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउँदै एमसीसी पास भएमा देशमा विकराल अवस्था सिर्जना हुने दाबी गरे । अध्यक्ष गजुरेलले कतिपयले एमसीसीलाई ५० करोड डलरमा मात्रै सिमित गरिरहेको भन्दै युद्धलाई पैसाले रोक्न नसकिने जिकिर गरे । उनले प्रधानसेनापतिले पूर्वमा गएर देश विदेशीको हातमा सुम्पिए नेपाली सेना चुप लागेर नबस्ने बताएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्ने बताए ।

अध्यक्ष गजुरेलले भने, ‘अहिलेको अवस्था के छ भने एमसीसीलाई टेबल गरेर, जसरी पनि टेबुल गर्ने र एमालेसँग मिलेर नेपाली काँग्रेसले त्यसलाई पारित गर्ने र लागू गर्ने योजनामा छन् । यदी एमसीसी सम्झौता खारेज गरिएन भने त्यसको परिणाम के हुन्छ भन्ने कुरा शासक वर्गले सोचिसकेका छैनन् । उनीहरुले लाखौँ जनता सडकमा किन उत्रिए भन्ने कुरा सोच्न सकिरहेका छैनन् । यसको बिरुद्धमा जनताको जुन अभिमत छ त्यसलाई कुल्चिन खोजियो भने त्यसमा अब अर्को विकराल स्थिती पैदा हुनेवाला छ । देशमा अहिले दुई वटा सम्भावनाहरु छन् । एउटा डरलाग्दो अवस्थातिर देश जान सक्छ । अर्को सम्भावना के छ भने अब यहाँ राष्ट्रिय युद्ध हुन्छ । यदी जबरजस्ती एमसीसी लादियो भने । कतिपयले एमसीसीलाई ५० करोड अमेरिकी डलरमा मात्रै सिमित गर्न खोजेका छन् । ५० करोड अमेरिकी डलर पाइने भएकोले एमसीसी सम्झौता पास गर्नुपर्छ भनिरहेका छन् । विषय ५० करोडको मात्रै होइन । नेपालमा राष्ट्रिय युद्ध भयो भने त्यसलाई पैसाले रोक्न सकिन्छ ? सकिँदैन । यहाँका प्रधानसेनापतिले पूर्वमा गएर के भनेरे भने नेपाललाई अब विदेशीहरुको हातमा सुम्पिन लाग्यो । यदी त्यसो गरेमा नेपाली सेना चुप लागेर बस्दैन भन्नुभएको थियो रे । गृहयुद्ध भनेको के हो ? सारा जनता एउटा पक्षमा शासक वर्गहरु त्यसको बिरुद्धमा गए भने त्यसले एउटा गृहयुद्धको रुप लिन पनि सक्छ । नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्छ ।’

अध्यक्ष गजुरेलले अहिले देश गम्भीर मोडमा रहेको बताए । उनले अमेरिकी सरकारद्वारा प्रोयोजित रुपमा दिएको एमसीसी पास गर्न अमेरिकाले दबाब दिइरहेको समेत आरोप लगाए । अध्यक्ष गजुरेलले देशलाई शंकटबाट बचाउन नयाँ तरिकाबाट अघि बढ्न आवश्यक रहेको बताउँदै लाखौँ जनता, देशभक्त, क्रान्तिकारीहरु एमसीसी सम्झौता खोरेजीको पक्षमा रहेको दाबी गरे ।

अध्यक्ष गजुरेलले भने, ‘आज देश एउटा गम्भीर मोडमा उपस्थित भएको छ । देशमा सामान्य अवस्था छैन । अमेरिकी सरकारद्वारा प्रोयोजित रुपमा दिएको एमसीसी नेपाल सरकारलाई उसले दबाब दिएर पारित गर्न खोजिरहेको छ । यसले देशमा ठूलो शंकट पैदा गरेको छ । देश एउटा ठूलो शंकटको अवस्थाबाट गुज्रिरहेको छ । त्यसबारण यो शंकटबाट निकास दिनको निम्ति हामी अब नयाँ ढंगले अघि बढ्न जरुरी छ । एमसीसी सम्झौता खारेज गर्नको निम्ति हामीले अभियान चलाइरहेका छौँ । हिजोसम्म आइपुग्दा पाँच वटा पार्टी र एउटा मोर्चाले गरेको नेपाल बन्द हिजो यहीँ भएको विभिन्न घटनाहरुमा प्रहरी र आन्दोलनकारीहरुको बीचमा भएको भिडन्त र आज देशभर यो कार्यक्रममा जुन उपस्थिति भएको छ । लाखौँ जनता, देशभक्त, क्रान्तिकारीहरु एमसीसी सम्झौता खोरेजीको पक्षमा छन् ।

त्यस्तै उनले शासक वर्गहरुले कुनै पनि बेला राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न सक्ने शंका व्यक्त गर्न सक्ने भएकोले अझै सशक्त भएर आन्दोलन गर्न आह्वान गरे । अध्यक्ष गजुरेलले एमसीसी पारित भए अमेरिकी सेनालाई, अमेरिकी सरकारलाई नेपालबाट लखेट्न गाह्रो हुने बताए ।

अध्यक्ष गजुरेलले भने, ‘शासक वर्गहरुले कुनै पनि बेला राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न सक्नेछन् । त्यसकारण हामीले संघर्षलाई अघि बढाइरहनु पर्छ । यो पारित भयो भने अमेरिकी सेनालाई, अमेरिकी सरकारलाई यहाँबाट लखेट्न गाह्रो हुन्छ । त्यसैले हामीले हुनै नदिने कोशिस गर्नुपर्छ । यसलाई संसदबाट अनुमोदन गर्न नै दिनु हुँदैन । त्यो पास गरे अमेरिकी सेना बिस्तारै आउँछन् र थितिमिति भाग्नेवाला छैनन् । त्यसकारण एमसीसीलाई टेबुल गर्न नै दिनु हुँदैन ।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सडक र संसदमा एमसीसीबारे आन्दोलन गरिरहेको बताइन् । उनले एमसीसी राष्ट्रघाती रहेको दाबी गर्दै कुनै पनि हालतमा एमसीसी पारित गर्न नदिने बताइन् । उपाध्यक्ष पौडेलले एमसीसीमा अनन्तकालसम्म नेपाललाई बन्देज बनाउने कुराहरु समावेश भएकोले यो नेपाली जनालाई स्वीकार्य नहुने बताइन् ।

उपाध्यक्ष पौडेलले भनिन्, ‘गठबन्धनको मिटिङमा पनि हामीले यसको बिरोध गरिरहेका छौँ । राष्ट्रिय जनमोर्चाले एमसीसीको कुनै बुँदा मात्र खारेज गरेर हुँदैन, यस्तो अनन्तकालसम्म नेपाल बन्देज बनेर बस्ने खालको बुँदाहरु थुप्रै छन् । जसले एक दुई वटा बुँदा खारेज गर्दैमा यो पास गर्न लायक हुन्छ भन्ने भ्रममा नपरौँ । एमसीसी कुनै पनि हालतमा स्वीकार्य छैन । यो खारेज हुनुपर्छ । यो टेबुल पनि गर्नु हुँदैन । संसदमा पेश गरिनु पनि हुँदैन । यसलाई फिर्ता गर्नुपर्छ । यस्तो खतरनाक किसिमको एमसीसीका कारण सार्वभौम सम्पन्न स्वतन्त्र देशलाई कसैको गुलाम बनाउन यो सम्झौताले खोजेको छ ।’

उपाध्यक्ष पौडेलले एमसीसी संसदमा टेबुल हुन पनि दिन नहुने भन्दै एमसीसीका कारण सार्वभौम सम्पन्न स्वतन्त्र देशलाई कसैको गुलाम बनाउन नदिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?