सुदूरपश्चिमका स्थानीय तहको सेवा धमाधम स्थगन हुँदै

लोकपथ
70
Shares

धनगढी । सुदूरपश्चिमका स्थानीय तहको सेवा धमाधम स्थगन हुन थालेको छ । कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमणपछि स्थानीय तहले सेवा स्थगन गर्न थालेका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र जोशीपुर गाउ“पालिकाले अत्यावश्यक र आन्तरिकबाहेक सबै कामकाज स्थगित गर्ने निर्णय गरेका छन् ।

नियमित कार्य सम्पादनको क्रममा कर्मचारी, जनप्रतिनिधिमा कोरोना संक्रमण भएकाले बुधबारदेखि सेवा स्थगन गरिएको स्थानीय तहद्वारा विज्ञप्ती जारी गरी जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाको केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहीमा पनि मिल्दोजुल्दो लक्षण देखिएकाले १२ देखि माघ १८ गतेसम्म सेवा स्थगन गरिएको सो कार्यालयले जानकारी दिएको छ ।

कार्यालयबाटै कोभिड संक्रमण फैलिने डर रहेकाले स्वास्थ्य, सरसफाई, एम्बुलेन्स, दमकलबाहेक सबै सेवा स्थगन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।

गौरिगंगा नगरपालिकाको अधिकांश कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुञ्जलेसम्मका लागि बुधबारदेखि सेवा स्थगित गरिएको हो । सेवा बन्द गरिएको अवधिभरि नगरपालिका र वडा कार्यालयहरुको आन्तरिक व्यवस्थापन र अत्यावश्यक कार्यमात्रै हुने प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए ।

जोशीपुर गाउँपालिकाले मंगलबारदेखि नै सेवा स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै मंगलबारदेखि १८ गते अर्थात एक साता गाउँपालिकाबाट प्रदान भइरहेका सेवाहरु स्थगित गरिएको जनाएको छ ।

‘यस गाउँपालिकाभित्र कोभिड–१९ को संक्रमण दिन प्रति दिन बृद्धि भइरहेको र यस कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा समेत संक्रमण देखिन आएकोले मिति ११ गतेदेखि १८ गतेसम्म आन्तरिक व्यवस्थापन र अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाजहरु बन्द रहने छ’ सो विज्ञप्तीमा भनिएको छ । कार्यालयले सो अवधिमा स्वस्थ्य र सरफाई सेवालाई निरन्तरता दिइने जनाइएको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिकाले पनि मंगलबार विज्ञप्ती जारी गर्दै बुधबारदेखि अत्यावश्यक बाहेक सबै सेवा स्थगन गर्ने निर्णय गरेको छ । नगरपालिकाको कर्मचारी, जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएकाले माघ १७ गतेसम्मका लागि सेवा स्थगन गरेको सो कार्यालयले जानकारी दिएको छ ।

यस्तै, डडेल्धुराको भागेश्वर गाउँपालिकाले पनि कर्मचारीमा कोरोना संक्रमणपछि माघ १६ गतेसम्मका लागि सेवा स्थगन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?