रुचाइएन सलमान खानको ‘रेस ३’

काठमाडौं । बलिउड स्टार सलमान खानको फिल्म ‘रेस ३’ ले नकारात्मक प्रतिक्रिया पाएको छ । रिलिजअघि व्यापक चर्चामा आएको यो फिल्मले राम्रो प्रतिक्रिया पाएन ।

नेपालमा पनि झण्डै सबैजसो हलमा रिलिज भएको यो फिल्मले शुक्रवारबाटै दर्शक गुमाउन शुरु गरिसकेको थियो । जुन किसिमले फिल्मले हाइप बनाएको थियो । त्यो हाइपलाई फिल्मले जोगाएर राख्न सकेन ।

भारतमा यो फिल्मलाई सलमान खानको सबैभन्दा झुर फिल्मका रुपमा हेरियो भने समीक्षात्मक रुपमा पनि राम्रो प्रतिक्रिया पाउन सकेन । सलमान खानका डाइ हार्ड फ्यानको समेत चित्त बुझाउन नसकेको यो फिल्मसँग नेपाली फिल्म भने साइड लागेका थिए ।

सलमान खानको ‘रेस ३’ को हल्लाले यो मितिमा नेपाली फिल्म रिलिज भएका थिएनन् । अघिल्लो हप्ता रिलिज भएको फिल्म ‘चंगा’ ले यसै पनि कम हल पाएको थियो । अझ ‘रेस ३’ का कारण केही हलमा खुम्चिएको थियो ।

यद्यपि सकारात्मक प्रतिक्रिया नपाएको सलमान खानको यो फिल्म काठमाडौंका धेरै हलमा चलिरहेको छ ।

यो फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् । फिल्ममा सलमान खानसहित अनिल कपूर, बबी देओल, ज्याकलिन फर्नाडिज, दैशी शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्म मुख्यतः सम्पत्तिकै वरिपरि घुमेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?