कांग्रेसले गरायो निर्वाचन आयोगमा दल दर्ता

लोकपथ
133
Shares

काठमाडौं । महाधिवेशन र सातै प्रदेश अधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । कांग्रेसले शनिबार १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक राखेर शनिबार नै निर्वाचन आयोगमा दल दर्ता गरेको हो ।

योसँगै आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले भाग लिन पाउने निश्चित भएको छ । उक्त निर्वाचनमा पार्टीका उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्वेवारी सभापति शेरबहादुर देउवालाई दिइएको छ । दल दर्ताका लागि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल, सचिवद्वय केशव रिजाल र प्रकाश शर्मा निर्वाचन आयोग पुगेका थिए । कांग्रेसले दल दर्ताका लागि केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको विवरण आयोगमा बुझाएको छ ।

भदौ १८ गते वडा अधिवेशन सुरु गरेको कांग्रेसले मंसिर अन्तिममा महाधिवेशन सम्पन्न गरेको हो । कांग्रेसले निर्धारित मितिलाई पटक–पटक सारेर मङ्सिर अन्तिममा महाधिवेशन सम्पन्न गरेको हो । संवैधानिक व्यवस्थाअनुसार कांग्रेसले भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?