प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
विश्व वातावरणीय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालले ४५ प्रतिशत वन क्षेत्र राखेर विश्व पर्यावरणीय क्षेत्रमा योगदान पु¥याइरहेको बताउँदै विश्वका सबै देशलाई आफ्नो हैसियतअनुसार योगदान गर्न आह्वान गर्नुभयो । विश्वका केही ठूला र धनी देशले वातावरण संरक्षणका बारेमा नेपाललाई उपदेश दिने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गाउँमा खाना पकाउँदा दाउरा बाल्ने कार्यभन्दा औद्यौगिक राष्ट्रले गर्ने रसायन प्रदूषण कैयाँ गुणा बढी घातक भएको तर्फ ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “चेतनाको कमी, विकासको आकांक्षा र असन्तुलित विकासका कारण वातावरण केही बिग्रेको छ, वातावरणीय सन्तुलन बिग्रियो भने असाधारण विनाशकारी सामना गर्नुपर्छ । तसर्थ वातावरणीय सुरक्षित भविष्यका लागि विश्वको सामूहिक प्रयास जरुरी छ ।”
सम्पूर्ण प्राणीको जीवन र भविष्यका लागि दिगो वातावरण संरक्षण आवश्यक रहेकामा जोड दिँदै उहाँले यसका लागि सबैले आफ्नो घर, टोल र बस्तीबाट प्रतिबद्ध भएर लाग्नु जरुरी रहेको औँल्याउनुभयो । दिगो विकासका लक्ष्य हासिल गर्न सन्तुलित तथा दिगो विकास आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ सरकार सजग एवं जिम्मेवार रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले दिगो विकासका लागि आर्थिक, सामाजिक र वातावरणीय विकास आवश्यक पर्ने र वातावरण संरक्षणका लागि घरघरबाट अभियान शुरु गर्नुपर्ने सुझाव दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो महानगरले हरित र सुन्दर शहर बनाउने अभियान अघि बढाएको बताउँदै यसमा सबैको सक्रिय सहयोगको अपेक्षा गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो महानगरमा आगामी साउन १ गतेदेखि प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरी कडाइका साथ लागू गरिने जानकारी गराउनुभयो ।
कार्यक्रममा वातावरण संरक्षणका क्षेत्रमा योगदान पु¥याएवापत कीर्तिपुरको जलविनायक सामुदायिक वन उपभोक्ता समूह, दाङको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र तथा सञ्चारकर्मीद्वय मुकेश पोखरेल र मनोज पौडेललाई पुरस्कृत गरिएको थियो । (श्रव्य सामग्री उपलब्ध छ)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया