प्रचण्डको उत्तराधिकारी श्रेष्ठ कि महरा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सम्मेलनको लागि दस्ताबेज तयार पार्दै छन् । २०६४ सालको पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेको माओवादी अहिले कमजोर अवस्थामा पुगेको छ ।

पुष ११ गतेबाट हुने राष्ट्रिय सम्मेलनमा यसबारे समीक्षा गर्ने तयारी माओवादीको छ ।

गत वर्षका फागुन २३ गतेको सर्वोच्चको फैसलापछि माओवादी केन्द्रको नाम फेर्ने समेत तयारी थियो ।
तर जनयुद्धको विरासत जोगाउनुपर्ने भन्दै स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरुले नाम फेर्न मानेका थिएनन् ।

‘माओवादी नाम नै घाँडो भयो’, सम्मका गुनासो केन्द्रीय सदस्यले राखेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब अवकास लिएर बस्न मन भएको बताएका छन् । पार्टीको नेतृत्वमा निरन्तर रहेको विषयमा प्रश्न गर्नेहरुले बुर्जुवा पार्टी बनाउन खोजेको पनि उनको भनाइ छ ।

‘त्यो मेरो व्यक्तिगत कुरा होइन । त्यो आन्दोलनले लाखौँ, करोडौँ जनताको आवश्यकता र चाहनाले नेतृत्व विकास हुने कुरा हो । अब यो पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले कति बसेको भनेर मानौँ मैले व्यक्तिगत रुपले बसेको जस्तो । यो मेरो व्यक्तिगत कुरा होइन’, न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् ।

‘यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाईँ बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त । व्यक्तिगत रुपले त भन्नुहुन्छ भने मलाई यत्रो बस्नुभन्दा अब रिटायर्ड भएर संस्मरण लेख्न पो राम्रो छ । तर मैले अहिले जुन दस्ताबेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ । र नेतृत्वप्रति गर्व गर्नेछ । यो त साइन्स हो, यो त विज्ञान हो । यो व्यक्तिगत कुर होइन भनेर म भन्न चाहन्छु’, प्रचण्डले भनेका छन् ।

प्रचण्डको भनाइमा उनी नेतृत्व छाड्न तयार छन् । तर, पार्टी पंक्तिमा प्रचण्डको सिटमा बस्ने आँट वर्तमान नेताहरुले देखाउन सकेका छैनन् । दोस्रो तहका नेताहरु प्रचण्डको विकल्प नभएको कुरा सार्वजनकि रुपमा राख्छन् ।

माओवादी नेताहरूका अनुसार समावेशी, महिला र खुला गरेर पाँच उपाध्यक्ष बनाउने तयारी छ । प्रचण्डपछि एक जना वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष एक र चारजना उपाध्यक्ष हुने बताइएको छ ।

माओवादीको अन्तरिम विधान २०७८ ले पार्टीलाई बहुपदाधिकारीमा लैजाने भनेको छ । हालको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव भनिएको छ । तर, विधानमा कुन पदाधिकारीको संख्या कति हुने भन्ने उल्लेख छैन ।

अन्तरिम विधानमा भएको पदाधिकारी ग्यारेन्टेड छैनन् । राष्ट्रिय सम्मेलनबाट पदाधिकारीका पद र संख्या एकिन हुनेछ । एक नेताका अनुसार नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने तयारी छ । पार्टी प्रवक्ता कृष्णबहादुर महरा पनि वरिष्ठ उपाध्यक्षको लाइनमा छन् ।

एक नेताका अनुसार अध्यक्ष प्रचण्डको रुचि पनि महरालाई वरिष्ठ उपाध्यक्ष बनाउने छ । अहिलको लागि जे पदाधिकारी भए पनि प्रचण्डको उत्तराधिकारीको रुपमा वरिष्ठ उपाध्यक्षलाई अघि सार्ने योजना मओवादीभित्र छ ।

महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको चर्चा छ । उपाध्यक्षमा आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । यसबाहेक देव गुरुङ, पम्फा भुसाल, मात्रिका यादव, हरिबोल गजुरेल उपाध्यक्ष बन्न सक्छन् । महरा, भुसाल, यादव र गुरुङको उपाध्यक्ष बन्ने सम्भावना बलियो छ ।

प्रचण्डपछिको नेतामा नारायणकाजी श्रेष्ठ या कृष्णबहादुर महरा को हुने भन्ने रस्साकस्सी सुरु भएको छ ।

‘अहिले पार्टीभित्रको कोणबाट हेर्दा स्वभाविक ढंगले प्रतिगमनविरुद्धको आन्दोलनको संयोजन कमरेड प्रकाश (नारायणकाजी) जीले गर्नुभयो । त्यो सबैले देखेको कुरा हो । अहिलेको पार्टीमा पहिले नेकपाअन्तर्गतको सचिवालयका प्रचण्ड र प्रकाश हुन्’, एक स्थायी कमिटी सदस्यले भने, ‘हामी अरु स्थायी कमिटीमा छौँ । योपछिको नेता वा उत्तराधिकारीमा प्रचण्डको विश्वास छैन । अहिले उहाँ नेताहरुको पनि नेता हो । अरु नेताहरु पनि पार्टीभित्र हुनुहुन्छ । नेतैनेता हुनुनहुन्छ । प्रचण्डको वरिपरिबाटै समाजवादी क्रान्तिको नेपाली मोडेल बनाउने तयारी छ । त्यासो हुनसकेमा माओवादी क्रान्ति पनि सही दिशामा जान्छ, त्यही ढंगले यसलाई बुझौँ न ।’

सशस्त्र युद्धमा सहकर्मी भएकाहरुले महरालाई पार्टीभित्र कम रुचाउनेका गरेका छन् ।

सभामुख रहँदा संसद् सचिवालयमा कार्यरत एक महिलालाई बलात्कार प्रयासको अभियोगमा राजीनामा दिएका महरा अदालतबाट सफाइ पाएसँगै पुनः पार्टीमा सक्रिय भएका छन् । लामो समय दाहालसँग निकट रहेर काम गरेका उनी दाहालको रोजाइका पात्र हुन् ।

पार्टीमा श्रेष्ठपछिको तेस्रो वरीयतामा रहेका महरा प्रचण्डको रोजाइमा परे पनि नैतिक धरातल कमजोर भएकाले विपक्षीका लागि राजनीतिक मुद्दा हुन्छ कि भन्ने डर छ ।

प्रचण्डपछिको नेता काे हो भन्ने प्रश्नमा केन्द्रीय सदस्य हितबहादुर तामाङ भन्छन्, ‘अहिले यो सान्दर्भिक प्रश्न होइन । अहिले दोस्रो तहको नेता भनेको नारायणकाजी नै हुनुहुन्छ । अध्यक्षका अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने, आवश्यक पर्दा कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने काम उहाँबाट हुन्छ ।’

वरीयताको क्रमअनुसार सांगठनिक नेतृत्वमा आउन सक्ने सम्भवना छ ।

‘त्यसो भनेर वरीयाताको हिसाबले पनि स्थापित हुन्छ भन्ने पनि नहोला । प्रचण्ड हेर्नुहुन्छ भने पनि पनि सिनियर नेताहरुलाई पछि पारेर स्थापित हुनुभएको नेता हुनुहुन्छ’, तामाङले भने ।

सिनियर र जुनियर भन्ने कुरा स्थायी नहुने उनको मत छ ।

जनयुद्धका सहकर्मी भएकाले महरालाई उत्तराधिकारीको रुपमा देखाउनै पर्ने र श्रेष्ठलाई छाड्दा ०६३–६४ पछिको पार्टी एकीकरणपछिका कार्यकर्तालाई सम्बोधन नहुने दबाबमा अध्यक्ष प्रचण्ड छन् ।

‘प्रचण्डलाई एकताको भाव पनि देखाउनु छ, नारायणकाजीलाई बाहिर राखेर त्यो देखाउन सकिँदैन । जनयुद्धभन्दा बाहिरबाट आएकालाई पनि हामीले स्थान दिन्छौँ भन्ने म्यासेज दिनुपर्ने विवशताका कारणले पनि प्रचण्डले स्वीकार गर्नुपर्ने देखिन्छ’, माओवादीमा एउटा जनयुद्धबाट आएको शक्ति र अर्को अन्य पार्टीबाट आएको शक्ति छ ।

‘जनयुद्धकै शक्तिहरुलाई च्याप्दाखेरि एकताबाट आएका शक्ति बिच्किन सक्छन् र अरु आउन चाहँदैनन् भन्ने म्यासेज जाँदा नारायणकाजीलाई च्याप्नु इच्छा नभए पनि राजनीतिक विवशता हो ।’

जनयुद्धबाट आएकाले मात्र पार्टी कब्जा गर्ने हो भने अरुलाई हामी त साक्षी किनारा रहेछौँ भन्ने म्यासेज जान सक्ने र त्यसले राष्ट्रिय राजनीतिमा पनि माओवादीको हिस्सालाई तलमाथि पार्न सक्ने दबाबमा प्रचण्ड रहेका पिटरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?