सुदूरपश्चिम प्रदेशबाट सभापतिसहित १७ जना कांग्रेसको केन्द्रीय समितिमा

धनगढी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट सभापतिसहित केन्द्रीय समितिमा १७ जनाको प्रतिनिधित्व भएको छ । सुदूरपश्चिम प्रदेशबाट कांग्रेस केन्द्रीय समितिमा सबैभन्दा धेरै प्रतिनिधित्व भएको यो पहिलो पटक हो ।

त्यस्तै, सभापतिबाहेक पदाधिकारीमा पनि सुदूरपश्चिमबाट पहिलो पटक प्रतिनिधित्व भएको छ । सुदूरपश्चिमबाट सभापति र एक पदाधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै, खुला केन्द्रीय सदस्यमा चार जना, खुला महिला केन्द्रीय सदस्य दुई जना, प्रदेश भूगोलबाट तीन जना, थारु महिलाबाट एक जना, थारु खुलाबाट एक जना, पिछडिएको क्षेत्रबाट एक, दलितबाट दुई र खस आर्यबाट एक जना निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा विभिन्न क्लस्टरबाट गरेर कैलालीबाट सबैभन्दा बढी सात जना निर्वाचित भएका छन् । १४औँ महाधिवेशनबाट केन्द्रीय पदाधिकारी र सदस्यमा अहिलेसम्म निर्वाचितमध्ये ११ जना नयाँ अनुहार पहिलो पटक केन्द्रीय समितिमा पुग्न सफल भएका छन् । सभापतिसहित छ जना यसअघि पनि केन्द्रीय समितिमा रहेका थिए ।

१४ औं महाधिवेशनमा सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशको डँडेल्धुराका देउवा १३औँ महाधिवेशनमा पनि सभापति निर्वाचित भएका थिए ।

पाँच पटक प्रधानमन्त्री समेत भइसकेका देउवा डँडेल्धुराबाट २०४८ सालदेखि प्रत्येक संसदीय निर्वाचनमा सांसद पदमा निर्वाचित हुँदै आएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिम प्रदेशबाट सभापतिपछि पहिलो पटक पदाधिकारीमा प्रतिनिधित्व भएको छ ।

बाजुराका बद्रिप्रसाद पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनी सहमहामन्त्रीतर्फ पिछडिएको क्षेत्रबाट निर्वाचित भएका हुन् । पाण्डे यसअघि केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य रहेका थिए । उनले सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही (हुम्ला)लाई पराजित गरे ।

सुदूरपश्चिम प्रदेशबाट सभापति र विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यका लागि ४८ जनाले प्रतिस्पर्धा गरेका थिए । खुला केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट १३ जनाले उम्मेदवारी दिएकोमा चार जना निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्यमा एनपी साउद (कञ्चनपुर), रमेश लेखक (कञ्चनपुर), दिलेन्द्रप्रसाद बडू (दार्चुला) र नैनसिंह महर (डँडेल्धुरा) विजयी भए ।

केन्द्रीय सदस्यत्रय साउद, लेखक र बडू यसअघि पनि पटक–पटक केन्द्रीय सदस्य भएका हुन् । पार्टीका प्रवक्ता समेत रहिसकेका बडू हाल केन्द्रीय मन्त्री छन् । भने सावद र लेखक पटक–पटक मन्त्री रहिसकेका छन् ।

नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष महर भने पहिलो पटकको प्रयासमा नै केन्द्रीय सदस्य निर्वाचित भएका छन् । विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका महर कुनै बेला पत्रकारिता पेसामा पनि आबद्ध थिए ।

त्यस्तै, खुला महिला केन्द्रीय सदस्यमा डाक्टर आरजू राणा देउवा (कैलाली) र ईश्वरी न्यौपाने (कैलाली) निर्वाचित भएका छन् । डाक्टर आरजू प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवापत्नी हुन् । उनी संविधानसभा सदस्य पनि हुन् ।

प्रदेश भूगोलबाट महिलातर्फ कैलालीका सुशीला मिश्र भट्ट र कैलालीकै रणबहादुर रावल तथा कञ्चनपुरका यज्ञराज जोशी निर्वाचित भएका छन् । रावल सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता हुन् भने श्रीमती भट्ट धनगढी उपमहानगरपालिकाकी उपप्रमुख हुन् । जोशी महेन्द्रनगर (हाल भीमदत्त) नगरपालिकाका पूर्वमेयर हुन् ।

देश भूगोलबाट महिला केन्द्रीय सदस्यमा तीन जना र खुलातर्फ छ जना उम्मेदवार रहेका थिए । त्यस्तै, महिला थारुतर्फ कैलालीका जीवन राना निर्वाचित भएकी छिन् भने थारु खुला केन्द्रीय सदस्यमा कैलालीका रामजनम चौधरी निर्वाचित भएका छन् । कांग्रेसबाट पटक–पटक मन्त्री तथा सांसद भइसकेका रामजनमबीचको केही अवधि लोकतान्त्रिक फोरमको उपल्लो तहको नेतृत्वमा रहेका थिए ।

पिछडिएको क्षेत्रबाट बझाङका अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भए । पटक–पटक सांसद, एक पटक राज्यमन्त्री तथा एक पटक राजदूत रहिसकेका सिंह पहिलो पटक केन्द्रीय समितिमा पुगेका हुन् ।

यसैबीच पछिल्लो परिणामअनुसार दलितबाट धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बझाङका प्रतिनिधिसभाका सदस्य प्रकाश स्नेही रसायली निर्वाचित भएका छन् ।

यस्तै गरेर अछामबाट समेत २०१७ सालपछि पहिलो पटक केन्द्रीय समितिमा प्रतिनिधित्व भएको छ । पछिल्लो परिणामअनुसार पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह खस आर्यबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनी ०४८ र ०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

अछामबाट सम्भवत सुदूरपश्चिममै पहिलो पटक २०१७ सालमा दिलबहादुर बुढथापा केन्द्रीय सदस्य भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?