म्याग्दी । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा आज पहिरोले चालकसहित स्काभेटर पुरिएको छ । तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको सडक निर्माणका क्रममा चालक र एक्स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले स्काभेटर चालक रघुगङ्गा–२ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्री पहिरामा पुरिएको जानकारी दिए ।
‘अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ’, उनले भने, ‘सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको हो ।’
प्रहरी निरीक्षक गुरुङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदूर र स्थानीयवासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन् ।
यसैगरी, धवलागिरी गाउँपालिका–७ ताकमका अन्दाजी ७७ वर्षका गोरे थापा मृत भेटिएका छन् । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परीक्षणका लागि बेनी अस्पताल ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि आज बिहान ताकम पुगेको छ । सडक छेउमा हिँडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो ।
प्रत्यक्षदर्शीले गाडी नआउँदासम्म हिँडिरहेका थापा गाडी अगाडि पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीको ठक्कर हुनसक्ने अनुमान गरेका छन् ।
घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पौडेलले सिसिटिभी फुटेजमा, शव परीक्षण प्रतिवेदन र प्रत्यक्षदर्शीको भनाइका आधारमा थापाको मृत्युको कारण पहिचान गर्न अध्ययन थालिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया