स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतलाई पहिलो डोज

RSS
49
Shares

वालिङ । स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३ हजार ८४० मध्ये एक लाख ६२ हजार ३८२ जनाले पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिए ।

जिल्लामा गत शुक्रबारसम्म एक लाख १९ हजार ७८५ जनाले कोभिड– १९ विरुद्धको दोस्रो मात्रा लगाइसकेका छन् । एघार पालिकामध्ये सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा ३९ हजार ४५५ जनाले पहिलो मात्रा लगाएका हुन् । वालिङ नगरपालिकामा २८ हजार १७, गल्याङ नगरपालिकामा १८ हजार ८३, चापाकोट नगरपालिकामा १२ हजार ६३४ र भीरकोट नगरपालिकामा ११ हजार ८९७ जनाले पहिलो मात्रा लगाएका छन् ।

त्यस्तैगरी कालीगण्डकी गाउँपालिकामा १० हजार ८२६, बिरुवा गाउँपालिकामा दश हजार ३१६, हरिनास गाउँपालिकामा आठ हजार १००, आँधीखोला गाउँपालिकामा सात हजार ८३१, फेदीखोला गाउँपालिकामा सात हजार ६१४ र अर्जुनचौपारी गाउँपालिकामा सात हजार ५८२ जनाले पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा लगाउनेमा सबैभन्दा धेरै (२४ हजार ५१० जना) वालिङका नगरपालिकाका छन् ।

पुतलीबजारका २४ हजार १३७, भीरकोटका १२ हजार १०२, चापाकोटका नौ हजार ५७, गल्याङका आठ हजार ७३४ जनाले पनि दोस्रो मात्रा लगाएका छन् । त्यस्तै कालीगण्डकीका दश हजार २०७, बिरुवाका आठ हजार ३१०, अर्जुनचौपारीका ७ हजार २४१, आँधीखोलाका छ हजार ५५९, फेदीखोलाका छ हजार ३१९ र हरिनासका दुई हजार ६०९ जनाले खोपको दोस्रो मात्रा पनि पूरा गरिसकेका छन् ।जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सबैभन्दा धेरै खोप भेरोसिल लगाइएको प्रमुख शर्माले बताए। कोभिसिल्ड, एस्ट्राजेनेका, जोनसोन एण्ड जोनसोन खोप पनि लगाइएको छ ।

‘अठार वर्ष उमेर समूहभन्दा माथिका ९९ प्रतिशत नागरिकलाई पहिलो मात्रा खोप लगाइसकेका छौं’ प्रमुख शर्माले भने, ‘दोस्रो मात्रा पनि धेरैले लगाइसकेका र बाँकीलाई लगाउने तयारी भइरहेको छ ।’ अठार वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाइसकेकाले अब आजदेखि जिल्लामा मोर्डना खोप लगाउन सुरु गरिने उनले जानकारी दिए । प्रमुख शर्माका अनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका करिब २९ हजार बालबालिकालाई खोप लगाउने गरी तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?