पाल्पा बस दुर्घटना अपडेट : ९ पुरुषसहित ३ महिलाको मृत्यु, ११ को सनाखत, १५ घाइते

काठमाडौं । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १५ जना घाइते भएका छन् । 

शुक्रबार बिहान लु१ख ९७५ नम्बरको यात्रुवाहक बस रम्भा गाउँपालिका–४, होमिनमा दुर्घटना भएको थियो । बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । 

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका अन्य १५ जनालाई उद्धार गरी अस्पताल लगिएको प्रहरी उपरीक्षक पन्तले जानकारी दिए ।

बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्बद्ध २७ जना सवार थिए । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?