व्यास नगरपालिकाद्वारा एक वर्षमा ११ किमी सडक कालोपत्रे

RSS
0
Shares

दमौली । आर्थिक वर्ष ०७७/७८ मा व्यास नगरपालिकाले ११ किलोमिटर सडक कालोपत्रे गरेको छ । पूर्वाधार निर्माणलाई जोड दिएको नगरपालिकाले एकवर्षका अवधिमा विभिन्न ठाउँका सडक कालोपत्रे गरेको सहरी पूर्वाधार तथा प्राविधिक शाखाका प्रमुख वरिष्ठ इञ्जिनीयर डा राजु पौडेलले जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा ५.१५ किमी सडक ग्राभेल भएको छ भने ७.०५ किमि सडकको नयाँ ट्रयाक खोलिएको छ भने ७४.८५ किमी सडकको स्तरोन्नति तथा मर्मत सुधार गरिएको छ ।

नगरपालिकाले ५ सय ५५ नयाँ धारा निर्माण, १ सय २२ खानेपानी योजना मर्मत सुधार र २५ हजार १ सय ढल निर्माण तथा सुधार गरेको जनाएको छ ।

उनले व्यास–११ तनहुँसुर जाड्ने खड्गकाली मार्गमा हालसम्म एक हजार ५ सय मिटर सडक कालोपत्रे गरिएको र पाँच हजार ७ सय ७५ मिटर नाला निर्माण सम्पन्न भएको बताए । खड्गकाली मार्ग कालोपत्रेका लागि व्यास नगरपालिकाको पाँच करोड रुपैयाँ र संघीय सरकारको पाँच करोड रुपैयाँ लगानीे छ ।

‘खड्गकाली मार्गको संघीय सरकारको समपुरक अनुदानमार्फत स्वीकृत भई गत आर्थिक वर्षमा नै टेण्डर स्वीकृत भई सम्झौता पश्चात् काम भइरहेको छ,’ शाखा प्रमुख डा पौडेलले भने, ‘बाटो चौडाका लागि कटिङको काम, ग्यावियन लगाउने काम, प्लम कंक्रिटको नाला बनाउने काम सकिएको छ । हालसम्म कूल कामको करिब ८० प्रतिशत काम भइसकेको छ ।’

यसैगरी दमौली केशवटार मार्ग (केशवटार बजार) मा ६ सय ६७ मिटर सडक कालोपत्रे भएको छ भने ६ सय ५० मिटर नाला निर्माण भएको छ । दमौली केशवटार मार्ग (पोखरीभञ्ज्याङ बजार)मा आठ सय मिटर सडक कालोपत्रे भएको छ भने ६ सय ९१ मिटर नाला निर्माण भएको छ । क्यामिन मार्गमा ८ सय ६५ मी सडक कालोपत्रे भएको छ भने ४ सय २५ मिटर नाला निर्माण भएको छ ।

कलेस्ती मार्गमा एक हजार १ सय ८० मिटर सडक कालोपत्रे भएको छ भने एक हजार १ सय ६० मिटर नाला निर्माण भएको छ । वडा कार्यालय पहुँच मार्ग व्यास–१० मा ७ सय ९० मिटर सडक कालोपत्रे भएको छ भने ४ सय ८२ मिटर नाला निर्माण भएको छ । छिर्कन वडा कार्यालय मार्गमा ४ सय ५ मिटर सडक कालोपत्रे भएको छ भने ४ सय १६ मिटर नाला निर्माणसम्पन्न भएको छ ।

कमलबारी वडा कार्यालय मार्गमा ५ सय ५२ मिटर सडक कालोपत्रे भएको छ भने ५ सय ४४ मिटर नाला निर्माण सम्पन्न भएको छ । माहेन्द्री मार्ग (शिशाघाट) मा ३ सय मिटर सडक कालोपत्रे भएको छ भने २ सय ९७ मिटर नाला निर्माण भएको छ ।

तालघरे दुम्सीचौर मार्गमा ३ सय ८८ मिटर सडक कालोपत्रे भएको छ भने २ सय ४६ मिटर नाला निर्माण भएको छ ।

नगरपालिकाले सोही अवधिमा तीन भ्युटावर निर्माण, दुई जातीय सांस्कृतिक संग्रहालय, ६ होमस्टे, चार पर्यटक पदमार्ग निर्माण तथा सुधार गरेको शाखा प्रमुख डा. पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?