धनगढी । कैलालीको टीकापुरमा हत्या गरिएका भुपेन्द्र बडुवालको न्यायको माग गर्दै कैलाली जिल्ला अदालत घेराउ गरिएको छ ।
फरार अपराधीलाई प्रहरीले प्रक्राउ गर्न नसकेको भन्दै सोमबार बडुवालका आफन्तहरुले अदालत घेराउ गरेका हुन् । उनीहरुले धनगढीको मुख्यबजारदेखि ¥यालीसहित नाराबाजी गर्दै अदालतमा विरोध प्रदर्शन गरेको जनाइएको छ ।
शुक्रबार कैलाली जिल्ला अदालतमा लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही धरौटी बुझाएर तारेखमा छुटेका थिए । उनीहरु तीन जनामाथि बडुुवालको हत्याका अभियुुक्तहरुलाई सघाएको (मतियार) आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो ।

उनीहरुलाई पनि थुनामा राख्नुभन्दा अदालतले धरौटीमै छोडेको भन्दै आफन्तहरु आक्रोशित बनेका थिए ।
शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका १२ मध्ये नौ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
अदालतको आदेशसँगै लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकपुरकै २५ वर्षीय सोहन शाहलाई कारागार पठाइएको जनाइएको छ ।
बडुवाल हत्या प्रकरणमा फरार रहेका अन्य नौ जनालाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । शुक्रबार भएको थुनछेक बहसमा अदालत सो बारेमा केही बोलेको छैन ।
लम्कीचुहाका बडुुवालको गत कात्तिक २३ गते टीकापुरमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । लम्की, टीकापुर र चिसापानी क्षेत्रमा युुवाहरुको समूह बनाएर अपराधिक गतिविधिमा संलग्न नवीन रावल र जयन्द्र शाहको समूहबीच आपसी झगडाका कारण बडुवालको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको थियो ।
आफन्तहरुले नविनलाई इन्काउन्टर गर्नुपर्ने माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया