ओखलढुंगामा संस्थागत पशुबीमा कार्यक्रम प्रभावकारी

RSS
0
Shares

ओखलढुंगा । ओखलढुंगामा पशुबीमा कार्यक्रम प्रभावकारी बनेको छ । सामाजिक संघसंस्थाको अगुवाइमा जिल्लामा तीन वर्षअघिबाट सुरु भएको ‘संस्थागत पशुबीमा कार्यक्रम’ प्रभावकारी बनेको हो ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल ओखलढुंगाले सामथ्र्य परियोजनाअन्तर्गत नमुनाको रुपमा सुनकोसी गाउँपालिका–३ सिस्नेरीबाट संस्थागत पशु बिमा कार्यक्रम सुरु गरेको थियो । अहिले जिल्लाको सुनकोसी गाउँपालिकासहित अन्य विभिन्न स्थानीय तहमा यो कार्यक्रम विस्तार भइसकेको छ ।

सुरुमा पाइलोटिङ क्षेत्रको रुपमा जिल्लाको सुनकोसी गाउँपालिकामा पशु बिमाको क्षेत्रमा काम गरेको महासंघले अहिले जिल्लाको चिशंखुगढी गाउँपालिकामा नमुनाको रुपमा विस्तार गरेको छ । सो कार्यक्रमअन्तर्गत महासंघले सञ्चालन गरेको अभियानमा तीन वर्षमा एक हजार ७ सय ७ घर परिवारले पशुबीमा गरेको राष्ट्रिय कृषक समूह महासंघ नेपाल, ओखलढुंगाका सामथ्र्य परियोजना अधिकृत सरस्वती कटुवालले बताए ।

सो कार्यक्रमअन्तर्गत ५ सय ५१ परिवारले ७५ लाख ६० हजार ६ सय रुपैयाँबराबरको पशु क्षति दाबी भुक्तानी पाइसकेका छन् । पशुपालनबाट कृषकलाई आर्थिक रुपमा घाटा नहोस् भन्ने उद्देश्यले सुरु गरिएको पशुबीमा कार्यक्रम पछिल्लो समय निकै प्रभावकारी देखिएको परियोजना अधिकृत कटुवालको भनाइ छ ।

‘पहिला जिल्लाका २/४ जना कृषकले आफैं बिमा कम्पनी खोजेर बीमा गराएको अवस्था थियो । हामीले संस्थागत पहल थालेपछि अहिले यो अभियानकै रुपमा अघि बढेको छ’, उनले भने, ‘कृषकलाई बीमाको महत्व बुझाउन र स्थानीय सरकारलाई पशुबीमा कार्यक्रमको अपनत्व दिलाउन केही समय लाग्यो । अहिले किसानले खोज्ने र सरोकारवालाले बीमामा सघाउने परिस्थिति छ ।’

पालिका तहमा पशुबीमा स्थानीयकरणका लागि महासंघले गरेको अभ्यासबाट प्रणाली सबलीकरणमा प्रभाव परेको अधिकृत कटुवालको भनाइ छ ।

जिल्लाका पशुपालक किसान पशुबीमा कार्यक्रमप्रति उत्साहित छन् । पशुबीमा कार्यक्रम आफ्नो वडामा लागू भएपछि पशुवस्तुको क्षति बीमामार्फत दाबी गर्न पाउँदा किसानलाई ठूलो राहत भएको सुनकोसी गाउँपालिका–८ भाल्दिपकी सुशिला श्रेष्ठले बताइन् । पशुबीमा गर्दा कुनै पनि भैपरी आउने दुर्घटनाका कारण गोठ खाली नहुने भएकाले सबै कृषकले पशुबीमा गर्नुपर्ने उनको सुझाव छ ।

‘२०७६ सालमा १२ वटा बाख्रा मरेपछि सबै खाल्डोमा पुर्नुपरेको थियो । त्यो बेला दुई लाख रुपैयाँभन्दा बढी क्षति भयो । दाबी गर्ने उपाय थिएन’, विगत लामो समयदेखि बाख्रा पालनलाई निरन्तरता दिँदै आएकी श्रेष्ठले भने, ‘बीमा नगर्दा पालेका पशुवस्तुको कुनै कारण मृत्यु भयो भने गोठै रित्तो हुन्थ्यो । अहिले त बीमा दाबी गर्ने त्यहाँबाट आएको पैसाले फेरि अर्को पशु किन्ने गरेका छौँ । त्यसैले सबैले पालेका पशुको बीमा गरौँ ।’

पशुबीमा कार्यक्रम लागू भएपछि श्रेष्ठ मात्र नभई जिल्लाका अधिकांश किसान पशुबीमाप्रति आकर्षित छन् । व्यक्तिगत बीमा गर्दा झन्झटिलो हुने भए पनि संस्थागत बिमाले सबैलाई गाउँ–गाउँमा पुगेर सेवा दिने भएकाले यो कार्यक्रम प्रभावकारी बनेको आईएमई जनरल इन्सुरेन्स ओखलढुंगा शाखा प्रमुख खुरहरि दाहालले बताए । पशुबीमा गरेका किसानहरुको पशु क्षति दाबीको भुक्तानी दिलाउन समन्वयको भूमिका आईएमई जनरल इन्सुरेन्स ओखलढुंगा शाखाले गरिरहेको छ । किसानले पशुबीमा गर्दाको फाइदा बुझेसँगै जिल्लामा पशुबीमा गर्नेको संख्यामा वृद्धि भएको छ ।

व्यावसायिक पशुपालनबाट हुने जोखिम न्यूनीकरणका लागि सरकारले ८० प्रतिशत अनुदानमा पशुबीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । व्यावसायिक रुपमा पशुपालन गर्ने कृषकलाई अकल्पनीय जोखिमबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारको पशुबीमामा ८० प्रतिशत अनुदान लगानीअन्तर्गत वडाबाट बजेट विनियोजन गरी कतिपय स्थानीय तहले काम गर्न थालेका छन् ।

मासु र दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने अभियान चलाएको सुनकोसी गाउँपालिकाले पशुबीमा कार्यक्रमलाई नीतिगतरुपमै अघि बढाएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपालको समन्वयमा गाउँपालिकाका प्रत्येक किसानका घरगोठमा बीमाबारे अभिमुखीकरण गर्दै आर्थिक अनुदानसमेत उपलब्ध गराएर पशुबीमा गराउन सहयोग गरिएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए ।

‘सुनकोसी गाउँपालिका मासु र दूधमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ । सोहीअनुसार किसानलाई पशुपालनमा अनुदान, गोठ सुधारमा सहयोगसँगै बिमामा समेत आवश्यक समन्वय र आर्थिक सहयोग गाउँपालिकाले गरिरहेको छ’, उनले भने, ‘किसानले पालेका पशुको बिमा गरेर क्षति भए दाबी सुनिश्चित गर्नेदेखि किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा समेत हामीले काम गरिरहेका छौँ ।’

थोरै लगानी गरेर गर्न सकिने पशुबीमाबाट किसानहरुलाई भविष्यमा अधिकतम् फाइदा हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष अधिकारीको भनाइ छ । पशुबीमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका आठवटै स्थानीय तहसँग समन्वय भइरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपाल, ओखलढुंगाका अध्यक्ष हेमकुमार घिमिरेले बताए । विगतमा बीमाका बारेमा जानकारीसमेत दिन नचाहने किसान अहिले आफ्ना पशुको बीमा गरिदिनु पर्‍यो भनेर आउने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?