बाग्लुङ । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।
गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ संकलन गरेको पाँच लाख ३५ हजार रुपैयाँ शनिबार उनकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो । नियमित डायलासिसका लागि पैसा नभएपछि उनका परिवारजनले सहयोगको याचना गरेका थिए । अर्थाभावमा उपचारबाटै वञ्चित हुनुपर्ने स्थिति देखेपछि सुनारलाई आर्थिक सहायता प्रदान गरिएको समितिका उपाध्यक्ष हिमाल कँडेलले बताए । जापानमा रहेका नेपालीहरुबाट सो रकम जुटाइएको उनको भनाइ छ । अस्पतालको शय्यामा रोगसँग जुधिरहेकी छोरीका लागि प्रवासी नेपालीले पठाएको आर्थिक सहयोग बुझ्दा लालमाया भावुक बनेकी थिइन् ।
सुनारको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सहयोग जुट्दै गएमा छोरीको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ की भन्ने आशमा लालमाया छिन् । उनी १५ वर्षदेखि श्रीमानबाट अलगिएर माइतीमा बस्दै आएकी छिन् । मिर्गौलापीडित छोरी मुनासहित चार सन्तान र ९८ वर्षीया आमाको लालनपालनको अभिभारा लालमायाकै काँधमा छ । दैनिक ज्यालामजदुरी गरेर परिवार धान्ने उनलाई छोरी रोगले थलिएपछि अर्को बज्रपात परेको छ । उपचारमा लाग्ने लाखौँ खर्च कसरी जुटाउने भन्ने पिरलो छ । मुना कक्षा १२ मा अध्ययनरत छिन् । रोगले सताएपछि उनको पढाइ पनि प्रभावित बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया