२८ गते एमसीसी संसदमा जानसक्ने भन्दै जनमोर्चाले घोषणा गर्‍यो आन्दोलन

लोकपथ
1.1k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा देशभर आन्दोलन गर्ने भएको छ ।

सोमबार बसेको जनमोर्चाको केन्द्रीय कमिटीको बैठकले मंसिर २६ गतेभित्र एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गर्न निर्देशन दिएको हो ।

आगामी मंसिर २८ गतेको प्रतिनिधिमा एमसीसी सम्झौता अनुमोदनको लागि पेश हुन लागेको बताउँदै आन्दोलनको घोषणा गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउनुपर्ने समय सकिन लागेको छ । एमसीसीसँग सम्बद्ध अमेरिकी उच्च अधिकारीहरू पटकपटक नेपालआई एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन दबाब दिइरहेका छन् । यही मंसिर २८ गते संसदको हिउँदे अधिवेशन डाकिएको छ । यही स्थितिमा सरकारले एमसीसी सम्झौतालाई अनुमोदनका लागि प्रस्तुत गर्ने सम्भावना छ । एमसीसी सम्झौता राष्ट्रघाती छ । त्यसलाई खारेज गराउन र संसदबाट अनुमोदन गर्न नदिन देशव्यापी सङ्घर्षको आवश्यकता छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयको बैठकले उक्त आवश्यकतालाई महसुस गरी यही मंसिर २६ गतेभित्र अनिवार्य रूपमा हरेक जिल्लामा एमसीसी समझौताको विरोधमा सङ्घर्ष गर्नका लागि कोणसभा, जनप्रदर्शन, गोष्ठी वा अन्तरक्रिया आदि जे सम्भावना छ गर्नका लागि मातहतका समितिहरूलाई निर्देशन गरिएको छ । सङ्घर्षलाई बढी व्यापक र उच्च बनाउन विभिन्न मोर्चा र २२ दलीय तथा सङ्घसंस्थाको गठबन्धनद्वारा पनि सङ्घर्षका कार्यक्रम घोषणा गर्न हाम्रो प्रयत्न रहने छ । अन्तमा हामीले उक्त राष्ट्रघाती सम्झौता संसदबाट अनुमोदन गर्ने होइन, त्यसलाई खारेज गर्ने सङ्घर्षमा ऐक्यवद्धता प्रकट गर्न सम्पूर्ण राष्ट्रवादी जनसमुदायलाई हार्दिक अपील गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले आगामी मंसिर २८ गते संसदको हिँउदे अधिवेशन बोलाएको छ । सो क्रममा एमसीसी संसदमा अनुमोदन गर्ने आशंका जनमोर्चाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?