चीनले केरूङ-काठमाडाैं रेलमार्गकाे काम थाल्याे

काठमाडाैं : भारतीय नाकाबन्दीका बेला पारवहन विकल्पका रूपमा अघि सारिएको केरूङ-काठमाडाैं रेलमार्ग निमार्णका लागि चीनले काठमाडाैंमा प्राविधिक खटाएकाे छ । 

भदाै १५ गतेभित्र रेलमार्ग अायोजनाकाे 'प्रि फिजिबिलिटी स्टडी रिपोर्ट' (प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन) तयार गर्नेगरि चिनियाँ प्राविधिक टाेलीले काम थालेकाे हाे । सम्भाव्यता अध्ययनका लागि छनोट भएको चार्इरना रेल्वे फर्स्ट सर्भे एन्ड डिजार्इन इन्स्टिच्युटबाट अाएका प्राविधिक टाेली सोमबार काठमाडाैंका विभिन्न स्थानमा पुग्यो । 

गत चैतमा नेपालको भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोलीले चीन सरकारसँग यो रेलमार्ग निर्माणका लागि अावश्यक सम्भाव्यता अध्ययन गर्ने सहमति गरेको थियो । यही सम्झाैताबमोजिम चीन सरकारले परामर्शदाता कम्पनीलार्इ रेलमार्ग अध्ययन गर्न नेपाल पठाएको रेल विभागले जानकारी दिएको छ । 

सम्भाव्यता अध्ययन गर्ने टाेलीले रेलमार्ग निर्माणको कार्य विन्यास र नेपालको भाैगोलिक अवस्थाबारे अध्ययनमार्फत टुंगो लगाउनेछ । यस्तै, काठमाडाैंमा रेल गुडाउने क्षेत्र र सम्भावित स्टेशसनहरूको अांकलन पनि यो अध्ययन टोलीले गर्नेछ । प्रारम्भिक अांकलनअनुसार चीनबाट रसुवा हुँदै अाउने रेल टाेखालार्इ प्रवेश बिन्दु बनाएर काठमाडाैं उपत्यका छिर्नेछ । यद्यपी: यसबारे अन्तिम टुंगो भने लागिसकेको छैन ।  

हाल चीनले तिब्बतको ल्हासासम्म रेलसञ्जाल विस्तार गरिसकेको छ । ल्हासासम्म विछ्यार्इएको रेल ट्रयाकलार्इ नेपाल र चीनबिचको सिमाना केरूङसम्म ल्याउन चीनले काम गरिररहेको छ । यही रेलमार्गलार्इ नेपालको राजधानी काठमाडाैंसम्म ल्याउनेगरि चीनले नेपालमा सम्भाव्यता अध्ययनको काम अघि बढाएको हो । सम्भाव्यता अध्ययनको सवै खर्च चीनले नै ब्यहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?