काठमाडौं, ८ जेठ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व एमाले र माओवादी केन्द्रका तल्ला तह तथा जनवर्गीय संगठन एकीकरण र व्यवस्थापनको मापदण्ड तयार पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकले मातहतका कमिटीको एकता र व्यवस्थापनको मापदण्ड बनाएर व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो ।
कार्यदलले तल्ला तहका कमिटी, प्रदेश, जिल्लासहितका स्थानीय कमिटीका साथै भ्रातृसंगठन, जनसंगठन, पेसागत संगठनलगायतको एकीकरणको मापदण्ड तयार पार्नेछ ।
पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ, वडासम्म एकीकरणका लागि पार्टीको अन्तरिम विधानको अधिनमा रहेर नियमावली मस्यौदा गर्न पौडेलको संयोजकत्वमा कमिटी गठन भएको बताए । समितिमा देव गुरुङ, बेदुराम भुषाल र खिमलाल देवकोटा सदस्य रहेका छन् ।
यसैगरी, सातवटै प्रदेश तथा प्रवासका संगठन एवं कमिटीहरूलाई एकीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव संकलन गर्न बैठकले कमिटी गठन गरेको छ । सो कमिटीमा पूर्व पार्टीहरूका इन्चार्ज, संयोजक, सहसंयोजक रहनेछन् । यो कमिटीले पार्टीलाई संगठन एकीकरणका लागि आवश्यकसुझाव दिनेछ ।
त्यसैगरी, भ्रातृसंगठन, पेसागत संगठनहरूको एकताका लागि पनि छुट्टै सुझाव संकलन कमिटी गठन भएको छ । यो कमिटीमा सम्बन्धित पूर्वपार्टीका सम्बन्धित विभागका इन्चार्ज, मोर्चा प्रमुख रहनेछन् । बैठकद्वारा गठन गरिएका सबै कमिटीहरूलाई १५ दिनको समय दिइएको प्रवक्ता श्रेष्ठले बताए, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया