काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंसिर ६ गते (सोमबार) सम्पन्न क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक भइरहेको छ ।
सो क्रममा काठमाडौंको प्रतिनिधि सभा क्षेत्र नं ७ को मत परिणाम सार्वजनिक हुँदा महाधिवेशन प्रतिनिधिमा कांग्रेसका मुख्यसचिवसहित पार्टीका विभिन्न तहमा नेतृत्व गरिरहेकाहरु नै पराजित भएका छन् ।
मंगलबार मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित पार्टीको भातृ संगठन, सुभेच्छुक संगठनमा समेत नेतृत्व गरेका नेताहरु पराजित भए।
सो क्रममा प्रजातान्त्रिक महासंघका महासचिव भक्तराज भुसाल, प्रजातान्त्रिक महासंघका अध्यक्ष गोविन्द शर्मा पौडेल, कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे, प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल इन्जिनियरिङ एसोसियसनका उपाध्यक्ष होमनाथ पोखरेल, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोजकुमार थापा, डिएलएका पूर्वअध्यक्ष भरत खरेल, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सिताराम केसी लगायत पराजित भएका छन् ।
यसरी केन्द्रीय महाधिवेशनमा पार्टीको जिम्मेवार व्यक्ति नै हार्नु कांग्रेसको लागि भने पक्कै राम्रो होइन । तर केन्द्रमा पहुँच बनाए पनि नेताहरु तल्ला तहका कार्यकर्ताहरुमा नपुग्ने प्रवृतीका कारण नेताहरु हार्ने गरेका छन् । काठमाडौं क्षेत्र नं ७ को सन्दर्भमा पनि सोही भएको एक नेताले लोकपथलाई बताए । ती नेताका अनुसार पार्टीका मुख्यसचिव, नेविसंघका पूर्वमहामन्त्री समेत तल्ला तहका कार्यकर्ताहरु माझ पुग्न नसकेकाले नै महाधिवेशनमा पराजित भएको दाबी गर्छन् । त्यसो त यसअघि पनि नेविसंघका महामन्त्री बलदेव तिमल्सिना सिन्धुपाल्चोकबाट क्षेत्रीय प्रतिनिधिमै पराजित भएका थिए ।
काठमाडौं क्षेत्र नं ७ मात्रै होइन धेरै जिल्लाहरुमा विद्यार्थी नेतादेखि संघीय सांसदसम्म हारेको श्रृंखला बाक्लै छ । सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनमा स्याङ्जाका संघीय सांसद मोहन पाण्डे, पाल्पाबाट नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोहरा, सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीसहित दुई मन्त्रीहरु सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पूर्वमन्त्री शिवराज जोशी र खड्गबहादुर बस्याल समेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया