भक्तपुर । चाँगुनारायण नगरपालिका–६ तेलकोट चोकमा नगरकोट जाने मूल सडकका ठीकमाथि पुरानो जीर्ण घर विसं २०७२ को भूकम्पले भत्किएको छ । घरको माथिल्लो तला र छानामा ह्वाङह्वाङ्ती ठूलो प्वाल छ । त्यही घरको तल्लो तला र अगाडिको टहरामा प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको जीवन बित्यो ।
भत्किएको घरलाई उठाउने क्षमता लामिछानेसँग भएन, अर्थ अभावले भत्किएको घरको तल्लो तलामा बस्ने र अगाडिको जस्ताको टहरामा रात गुजार्नुको विकल्प उसँग थिएन । पुरानै कोट र ढाका टोपीले धान्दै आएको आदर्श र निष्ठालाई जीवितै राख्न सफल लामिछानेको प्रदेशसभा सदस्यको यात्रा पाँच महिनामै टुङ्गिए पनि छोरीको विवाह गर्न, चुनाव लड्न र छोराछोरीलाई पढाउन विभिन्न सहकारी संस्थाबाट लिएको १८ लाख ऋणको भारी भने श्रीमती निर्मलाको काँधमा घर व्यवहारसँगै खप्टिएको छ ।
पार्टीमा मात्रै नभई सिंगो चाँगुनारायण नगरपालिक क्षेत्रमा आदर्शका रुपमा चिनिएका ५१ वर्षीय लामिछानेलाई जुनसुकै पार्टीका व्यक्तिले पनि आदरका साथ ‘हरिगुरु’ भनेर सम्बोधन गर्थे ।
नेकपा(एमाले)भक्तपुका सचिवसमेत रहेका लामिछानेको मष्तिष्काघातका कारण गत वैशाख ३१ गते निधन भएपछि उनको परिवार मात्रै होइन, सिंगो नगरकोट शोकमा डुबेको छ । परिवारलाई शोकसँगै ऋण कसरी तिर्ने र छोराछोरीलाई कसरी पढाउने भन्ने पिरलो थपिएको छ ।
एक साताको रारा भ्रमण सकेर अघिल्लो शनिबार साँझ घर आइपुगेका उनलाई भोलिपल्ट टाउको दुखेपछि काठमाडौं मेडिकल कलेज सिनामंगल ल्याइएकामा चिकित्सकले मस्तिष्काघात भएको जानकारी गराएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा उनको निधन भएको थियो ।
विसं २०२४ फागुन ११ गते जन्मनुभएका उनले २०३९ मा ततकालीन नेकपा (माले)को भा्रतृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गरेका थिए । विसं २०४६ को आन्दोलनका क्रममा घाइते भएका उनी प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा १३ पटक गिरफ्तार भएका थिए ।
राजनीतिक जीवनमा कुनै पदको लोभ र आर्थिक लालच नपालेका कारण पनि सम्मानका पात्र बन्दै आएका लामिछानेले सांसद भएपछि सांसदको सुविधासमेत लिन नपाई संसार छाडेको स्थानीयवासी निरञ्जन बजगाईं बताए ।
भनसुन र सोर्सफोर्समा जागिर लगाउनु हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्दा दुई छोरीले अहिलेसम्म जागिर पाउन सकेका छैनन् । बाह्र कक्षाको पढाइ सकेर उच्च शिक्षाको पर्खाइमा रहेका छोरा कृष्णशरणले उच्च शिक्षा अध्ययन गर्ने इच्छा पनि यहीँबाट विश्राम लिनुपर्ने हो कि भन्ने चिन्ताले लामिछानेको श्रीमती निर्मलालाई पिरोलेको छ ।
श्रीमती निर्मला भनीन् “उनले घर परिवारभन्दा पनि पार्टीलाई धेरै माया गर्नुभयो, उहाँको इच्छा र बाटोलाई हामीले रोकेनौँ, अब केही होला कि भन्ने बेलामा छाडेर जानुभयो, अब छोराछोरीको पढाइलाई कसरी निरन्तरता दिने, भूकम्पले ढालेको घरलाई कसरी उठाउने र ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिएको छु ।”
लामिछाने परिवारको अवस्था देखेपछि घरमा सान्त्वना दिन जानेले अर्थ संकलन गरेर दिन थालेका छन् । संकलन गरेर आफूलाई आजसम्म पाँच लाख ९२ हजार ८०३ बुझाएको परिवारले जनाएको छ ।
आजसम्म तत्कालीन एमाले भक्तपुरले एक लाख, प्रधानमन्त्री केपी शर्मा ओलीको परिवारका तर्फबाट प्रधानमन्त्रीपत्नी राधिकाले ५० हजार, एमाले चाँगुनारायण नगरपालिका–८ कमिटीले एक लाख ५ सय ४५, अनेमसंघ भक्तपुरले ८३ हजार २ सय ९०, एमाले–७ चाँगुनगर कमिटीले ३१ हजार पाँच सय, एमाले वडा नं ४ नगर कमिटीले ३० हजार, जिल्ला समन्वय समिति भक्तपुरले १० हजार ५००, गैसस महासंघ भक्तपुरले १६ हजार १ सय ४०, निर्माण व्यवसायी संघ भक्तपुरले ५१ हजार, युवा बचत तथा ऋण सहकारी संस्था लिले ७२ हजार २ सय १८, एमाले चाँगु– १ का ईश्वर थापालगायतले ३० हजार, विजय बास्तोलाले चार हजार, चाँगु– ५ का लोकबहादुर थापाले चार हजार १०० र एमाले मध्यपुरथिमि १ ले १० हजार पाँच सय परिवारलाई हस्तान्तरण गरेका छन् । अर्थ सहयोगका लागि रकम संकलन गर्ने क्रम जारी रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया